वर्ष २०८१ मा कला क्षेत्रले केही हस्तीलाई गुमायो।
सिपी लोहनी

वर्ष २०८१ वैशाख १७ गते निजी क्षेत्रको पहिलो फिल्म माइतीघरका अभिनेता तथा गायक सिपी लोहनी चिदम्बरमप्रसाद लोहनी को निधन भयो। स्वासप्रश्वास, पार्किन्सन्स तथा अल्जाइमरजस्ता रोगसँ लड्दै आएका उनको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पततालमा निधन भएको थियो। लामो समयदेखि अभिनेत्री पत्नी माला सिन्हाका साथ मुम्बई बस्तै आएका ८६ वर्षका उनी निधनको केही समययता जन्मस्थान काठमाडौंको डिल्ली बजारमा बस्दै आएका थिए। विराटनगर भन्सारमा जागिरे छँदा सिपीले रेडियो नेपालमा केही गीत रेकर्ड गराएका थिए।
बिएस थापाद्वारा निर्देशित एवम् नरशमशेर जबरा र जोगेन्द्र झाद्वारा निजी क्षेत्रबाट निर्मित पहिलो फिल्म माइतीघर खेल्नु अघि उनी गीत गायनमा प्रख्यात थिए। हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका साथ फिल्म माइतीघरमा संयोगले फिल्म खेल्न पुग्दा उनीहरूको विवाहसमेत भएको थियो।
ध्रुव हाडा

जीवनभर हास्यव्यङ्ग्यको माध्यमबाट सबैलाई हसाउँदै आएका सिद्धहस्त हास्य कलाकार ध्रुवरत्न हाडाले सबैलाई रुवाउँदै ७९ वर्षको उमेरमा वैशाख २६ गते अन्तिम श्वास लिए। कलेजेको क्यान्सरका कारण लामो समय थलिएका उनको उपचारको क्रममा निधन भएको थियो। २००२ साल पुस १ गते जन्मिएका हाडाले १० वर्षको उमेरदेखि नै हास्य कलाकारिताको सुरूवात गरेका थिए। २०२४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका हाडाले प्रहरी उपरीक्षकसम्म भई २०५६ सालमा अवकाश प्राप्त गरेका थिए। हाडाले जागिरे जीवनमा पनि विभिन्न खालका हास्यव्यङ्ग्य, नाटक र प्रहसनमा भाग लिई ख्याति कमाएका थिए।
महजोडीभन्दा अघिल्लो पुस्ताका हास्य कलाकार हाडा र राजपाल थापा अर्थात् हाडापालको हास्य जोडी एक समय खुबै जमेको थियो। प्रहसनका साथै लेखन तथा निर्देशनमा समेत सक्रिय हाडापालको जोडीले ज्युदा मुर्दा, कार्यालय निरीक्षण, म भए, पटके चार, दुई कविको मुठभेड, दुई स्वास्नीको पोइ कुना पसी रोइ, टुरिस्ट गाइड, रिसको बैंक, हकर्सको टक्कर, बम्पर उपहार, हस्पिटलको बेड, दुलहा बिक्री केन्द्रलगायत करिब डेढ सय प्रहसनमा अभिनय गरेका थिए। उनका तीन छोरी र श्रीमती छन्।
बद्रीबहादुर केसी

लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय कलाकार बद्री बहादुर केसीको उपचारको क्रममा जेठ ५ गते निधन भयो। करिव ५-६ वर्षदेखि घाटीको क्यान्सरसँग जुध्दै आएका केसीको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको थियो। माया प्रीति, वासुदेव जस्ता फिल्म र टेलिफिल्ममा अभिनय गरेका केसी पछिल्लो समय कलाकारिताबाट टाढा थिए। ललितपुरको धापाखेलमा बस्दै आएका उनको दुई छोरा र श्रीमती छन्।
दीपेश लामा

जेठ २५ गते कलाकार तथा मोडल दीपेश लामाको ३९ वर्षको उमेरमा निधन भयो। करिब दुई दशकअघि गायक प्रेम लामाले गाएको लोकप्रिय पप गीत तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु मका मोडलसमेत रहेका लामा सोही दिन काठमाडौंको वसुन्धरामा हिँड्ने क्रममा अचानक बेहोस् भई लडेका थिए। लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित लामाले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका थिए।
गुरुदेव कामत

साउन १७ गते नेपाली शास्त्रीय संगीतका गायक, संगीतकार र संगीत प्रशिक्षकका रूपमा ख्याति कमाएका गुरुदेव कामतको ६९ वर्षको उमेरमा सिरहाको पोखरभिण्डास्थित घरमा निधन भयो।
२०८० सालको चैतमा मृगौलामा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसक्ने भएपछि निधनको दुई साता अघि मात्र सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनमा खराब हुँदै गएको थियो भने तीन दिन अगाडिदेखि खाना खानसमेत छोडेका थिए।
उनी भारतबाट शास्त्रीय संगीतमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेर २०५६ सालमा नेपाल फर्किएका थिए। २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा प्रथम भएका उनले २०५० सालमा पहिलो एल्बम् रिलिज गरेका थिए। उनले कुन निष्ठुरीले, प्रेमको नशा, आज भोली किन होला, जूनको चाँद हौ तिमी, मेरो हजुरको तनमा, मेरो श्यमा आउजस्ता ३ सयभन्दा बढी नेपाली तथा मैथिली भाषाका गीत गजल तथा भजन गाएका छन् भने कयौँ गीतमा संगीत भरेका छन्। प्रबल जनसेवी सेवासहित अन्य विभिन्न सम्मानबाट सम्मानित उनले आफ्नो जीवनकालमा २५ हजार भन्दा बढीलाई संगीत प्रशिक्षण दिएका थिए। कामतको श्रीमती, तीन छोरा र एक छोरी छन्।
एलपी जोशी

साउन १० गते नेपाली लोक संगीतका सर्जक एलपी जोशीको झापाको दमकमा निधन भयो। रिटिङ–रिटिङ नबजाऊ बिनायो, वल्लो खोलो पल्लो खोलोजस्ता दर्जनौँ कालजयी लोकगीतका गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको थियो। धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका जोशी पछिल्लो समय झापामा बस्थे। दुईमध्ये तीन वर्षअघि कान्छो छोरा र एक दशकअघि पत्नी गुमाएर पारिवारिक शोकमा रहेका जोशी पाको उमेरमा पनि गीत संकलनमा सक्रिय थिए। जोशीले पहिलोपटक २०१३ सालमा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर रेडियो नेपालबाट गायन यात्रा आरम्भ गरेका थिए।
प्रकाश तिमल्सिना

गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा साउन २६ गते निधन भयो। ललितपुर महानगरपालिका भैंसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका उनलाई परिवारले तुरुन्तै पाटन अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दृष्टिविहीन उनी रियालिटि शो नेपाली ताराबाट गायनमा उदाएका उनको प्रिय तिम्रो सिउ“दोमा सिन्दूर भर्न देऊ, तिम्रो हातको सिन्दूर, जुन भन्दिन, नमान लाज यसरी, नआए नि हुन्थ्योलगायतका गीत चर्चित छन्। सुनसरी प्रकाशपुरका उनले आफू बाल्य अवस्थामा हुँदा कोशीमा आएको बाढीका कारण परिवार गुमाएका थिए।
सचिन परियार

लाखौँ नेपालीको मन जितेका बाल गायक एवम् कलाकार सचिन परियारको पुस १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो। १३ वर्षीय सचिन निधनको केही दिनदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत थिए। निमोनियाका कारण सभियर पल्मोनरी ह्यामेरेज भएपछि उनलाई आइसियुमा राखेर उपचार गरिए पनि उनी बाँच्न सकेनन्। सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृङ्खला मेरी बास्सैमा पनि अभिनय गरेका थिए। उनले रुमाल खस्छ की, के छ र हजु्र, बरको छायाँलेलगायतका गीत गाएका थिए।
विक्रम राई

फागुन ६ गते गायक तथा संगीतकार विक्रम राईको हृदयघातको कारण निधन भयो। खोटाङ घर भएका राईले बिहान ३ बजे श्वास फेर्न छोडेपछि परिवारले काठमाडाैं मोडल अस्पताल पु¥याएको थियो भने अस्पताल लानासाथ उनलाई मृत घोषणा गरिएको थियो। ३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिए। उनी नेपाल आइडल हुनुभन्दा अघिको पहिलो नेपाल आइडलको उपाधि विजेता समेत हुन्। उनले गाएको तिम्ले बाटो फेर्यौ अरे २ र ३, जीवनसाथी तिमीलाई छ मेरो कसम मेल भर्सन जस्ता गीत लोकप्रिय छन्।
चेतबहादुर सिंह (राजा)

फागुन १६ गते अभिनेता तथा निर्माता चेतबहादुर सिंह (राजा) को राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा अल्पायुमै निधन भयो। नेपाल चलचित्र कलाकार संघको पूर्व सचिव र महासचिव, नेपाल टेलिचलचित्रकर्मी संघका पूर्व उपाध्यक्षसमेत रहेका कलाकार सिंह पछिल्लो केही समयदेखि अस्वस्थ थिए।
कलेजो रोगबाट पीडित उनले सहिद, देव्यानी, दलाल, सुनपानी, छक्का पञ्जा २ जस्ता फिल्मका विभिन्न भूमिकामा अभिनय गरेका थिए भने तितो सत्य, मेरी बास्सैलगायतका दर्जनौँ टेलिफिल्ममा अभिनय गरेका थिए। उनले सुनपानी नामक फिल्म पनि निर्माण गरेका थिए। ५४ वर्षीय सिंहको परिवारमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन्।
प्रतिक्रिया