सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं।

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१३ कान्छीचोकस्थित सडकमा दलदले बजारबाट धारापानी चोकतर्फ जाँदै गरेको लु.११ प १४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बुलिङटार गाउँपालिका-५ भदौरे बस्ने १९ वर्षीय सुरज घर्तीको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज चितवन हुँदै टिचिङ अस्पताल काठमाडौंमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसाबासस्थित सडकमा ना.६ ख ३५७६ नम्बरको ट्रकले लु.९६ प ९४१७ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका-२ गौरीया बस्ने २५ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।