काठमाडौं ।
निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच–प्लेको उपाधि जितेका छन् ।
३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धनबहादुर थापालाई ५-४ ले हराउँदै निरजले उपाधि जिते । यो उनको यस सिजनमा तेस्रो तथा करिअरमा चौथो उपाधि हो । यसअघि उनले जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनमा उपाधि जितेका थिए ।
उपाधिसँगै निरजले ६० हजार र धनले ४२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सेमिफाइनलमा निरजसँग पराजित भएका डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतीले ३२ हजार र रवि खड्काले २४ हजार नगद प्राप्त गरेका थिए ।
नम्बर एकले पाए ११ हजार
नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले जनही ११ हजार प्राप्त गरे । पहिलो चरणमा बाहिरिएका पशुपति शर्मा, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सञ्जय लामा, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्यप्रसाद शर्माले जनही ६ हजार पाए ।
प्रतिक्रिया