बिना स्वादैको युट्युब ट्रेन्डिङमा


अगामी चैत्र २२ गते रिलिज हुने फिल्म वसन्तमा समावेश गीत बिना स्वादैको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ।
१० दिनअघि सार्वजनिक गीत युट्युब ट्रेन्डिङअन्तर्गत म्युजिक सेक्सनको शीर्ष स्थानमा उक्लेको हो।

गीतले १२ लाख ४८ हजारभन्दा बढी भ्युजसहित ४२ हजार लाइक तथा १८ सय बढी प्रतिक्रिया पाएको छ। गीत फरक भएको र बागलुङ आसपासका जिल्लाको मौलिकपन देखाइएको भन्दै प्रशंसाको ओइरो लागेको कमेन्टबक्स देख्न सकिन्छ। अधिकांश दर्शकले गीतको शब्दको प्रशंसा गरेका छन्।

गायक देवेन्द्र बब्लु (द फिरन्ते) को स्वर र परिकल्पना रहेको गीतमा शब्दरचना र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु तथा संगीत संयोजन योगेश काजी शाहको रहेको छ। हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातीय प्रेमपश्चात् परिवारले उनीहरूबीचको मोहनी फुकाउन गर्ने विभिन्न घटना देखाइएको छ

। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय प्रभातपाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारीलाई प्रस्तुत गरिएको छ।

फिल्ममा प्रभात र श्रीशिभान्सीसहित प्रकास सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गाद, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।

गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र बिन्दु बोहोराद्वारा निर्मित सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतको नै छ भने विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ। अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको हो।