खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर 

1.97k
Shares

काठमाडौँ। 

 खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

आज (सोमबार) नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्त्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौँतापत्रको लक्ष्य रहेको छ ।”

भारत गणराज्य सरकार र नेपाल सरकार दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ गर्ने आकाङ्क्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरू तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौँतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौँताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तब, भारतसरकारको जलशक्ति मन्त्रालयका सचिव द्धय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । शनिबार भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका  मन्त्री यादव भोली मङ्गलबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।