बाँसुरीको धुनसँगै झुम्यो खोटाङ


खोटाङ ।

माघ महिनाको मध्येतिर धुम्मिएको दिन। बिहानको करिब ११ बजेदेखि गुञ्जिन शुरू भएको बाँसुरीको धुन गहिरो चिसो बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो।

बाँसुरीको धुनमा मिसिएका तबला, सारंगी, मादललगायतका ताल र धुन सुनमा सुगन्ध बनेका थिए। मुख्य आकर्षण थिए चर्चित बाँसुरी वादक नरेन्द्रबिक्रम राई। नरेन्द्रलगायत नेपालका विभिन्न जिल्लाबाट आएका बाँसुरी वादकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेको थियो। खोटाङको दिक्तेलबजारस्थित सरस्वती माविमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनले जिल्लाबासीको जाडो छलिरहेका थिए।

सन्दर्भ हो, प्रथम राष्ट्रिय बाँसुरी सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी वादन तथा स्कुलस्तरीय गायन-वादन प्रतियोगिता–२०८१ को। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको कार्यक्रममा चर्चित बाँसुरी वादक नरेन्द्र राईको विशेष प्रस्तुति रहेको थियो। नरेन्द्रले आफ्नाले सिर्जना गरेका लोकभाका तथा अन्य धुन र नेपाली संगीत बजारमा चलेका दर्जनौ धुन प्रस्तुत गरेका थिए।

कार्यक्रम शुभारम्भ र समापनमा विशेष एकल प्रस्तुति दिएका राईको कलाले दर्शकको मन जितेका थिए। १३ जना वादक सम्मिलित खुला बाँसुरी वादन प्रतियोगिताको उपाधि भने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कैलाश राईले जितेका छन्। प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोस्रो र सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेस्रो भएका छन्।

धादिङ, काठमाडौंलगायत विभिन्न जिल्लाबाट आएका बाँसुरी वादकले सहभागिता जनाएको प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो भए। विजयी प्रतियोगीहरूले क्रमशः नगद दश, सात, पाँच र तीन हजार रुपेैयाँ सहित प्रमाणपत्र प्राप्त गरे।

बाँसुरी वादन प्रतियोगिताकै अवसरमा विद्यालयस्तरीय गायन-वादन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। नगरभित्रका विद्यालयस्तरीय सामूहिक गायन तथा वादन प्रतियोगितातर्फ जालपा मावि जालपा प्रथम भएको छ। यस्तै, ज्योति मावि जालपा दोस्रो, सरस्वती मावि दिक्तेल तेस्रो र दिक्तेल अग्रेजी आवासीय विद्यालय चौथो भएको नगरपालिकाका शिक्षा शाखा कर्मचारी सुवासचन्द्र राईले जानकारी गराए। प्रतियोगिताका विजयी विद्यालयले क्रमशः नगद २५, २०, १५ र पाँच हजार रुपैंयाको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

नौ विद्यालय सहभागी प्रतियोगितामा सहभागी जालपा मावि नुनथलाले नगद तीन हजार र जगदम्बा मावि बुइपाले दुई हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै, सामूहिक गायनका लागि रचनातर्फ जगदम्बा मावि बुइपाका शिक्षक राजनकुमार बास्तोला उत्कृष्ट बनेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अनिलकुमार राईको संगीत उत्कृष्ट भएको छ। उत्कृष्ट रचनाकार र सँगीतकार दुबै जनाले नगद पाच-पाच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन्।

विद्यालयस्तरीय गायन प्रतियोगितामा केशव कार्की, नरेन्द्र निर्विकार, नवीन राई ‘संघर्ष’, नगेन्द्र बिक्रम राई र भलाकाजी राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

Skip This