तर्साउने ममीका नतर्सिने कलाकार


काठमाडौं ।

उसो त अभिनेत्रीद्वय प्रियंका कार्की र दिया मास्के घरपालुवा जनावर बिरालोलाई अत्यन्तै माया गर्छन्। नेपाली समाजमा बिरालोले बाटो काटे अशुभ हुन्छ भन्ने मान्यता छ।

उनीहरू भने त्यसको विरोध गर्छन्। उनीहरूको अभिनय रहेको फिल्म ममीमा त्यही बिरालोलाई नकारात्मक र भूत प्रेतको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ।

फिल्मले नेपाली समाजमा भूत प्रेत र बिरालोप्रतिको धारणा कस्तो छ भन्ने प्रस्तुत गर्ने उनीहरूको धारणा छ। ‘म बिरालोलाई निकै माया गर्छु। बाटोमा हिँड्नु हामी मानिसको जस्तै उसको पनि अधिकार हो भन्छु र कसैले यसलँई नराम्रो रूपमा बुझ्यो भने त्यस्तो होइन भन्छु। मलाई बरु मान्छेहरूसँग डर लाग्छ तर भूत प्रेत र जनावरसँग डर लाग्दैन’ फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले भनिन् ‘जनावरमा भूतको बास हुन्छ भन्ने कुरामा विश्वास छैन। यो फिल्मले तर्साउँछ तर पूर्ण रूपमा हरर फिल्ममा जस्तो गरि भने तर्साउँदैन।’

प्रियंकाले फिल्मको स्क्रिप्ट मन परेपछि काम गरेका कतिपय फिल्ममा स्क्रिप्टमा भएझैँ उतार्न कठिनाई हुने र यस फिल्ममा पनि स्क्रिप्ट पूर्ण रूपमा उतार्न नसकिएको बताइन्।

अर्की अभिनेत्री दिया मास्केले फिल्म पूर्णरूपमा पारिवारिक रहेको र फिल्ममा समाजमा रहेको भूत प्रेतसम्बन्धी मूल्य मान्यतालाई उजागर गरिएको बताउँछिन्। उनले यस जनराको फिल्ममा पहिलोपटक काम गरेको जनाउँदै वास्तविक जीवनमा भने कहिल्यै पनि भूतको अनुभव नगरेको र आफूलाई भूत भन्दा पनि नकारात्मक र सकारात्मक उर्जा छ भन्नेमा विश्वास रहेको बताइन्।

फिल्मका अभिनेता सुलक्षण भारतीले फिल्ममा आफ्नो भूमिका निकै चुनौतीपूर्ण रहेको जनाउ“दै त्यसलाई पर्दामा उतार्न हरसम्भव मिहिनेत गरेको बताए।

‘म फिल्म पनि निर्देशन गर्ने भएकाले र थिएटरमा कलाकारको रूपमा अभिनय गर्ने भएकाले फिल्ममा चाहि खासै अफर आउँदैन, तर यो फिल्ममा आएको भूमिका निकै चुनौती पूर्ण थियो’ उनले भने।

यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका समर निरौलाले फिल्म हरर जनरामा भए पनि भूतसम्बन्धी नभएको प्रष्ट्याए। उनले फिल्म सुटिङको क्रममा पैदा भएको डरको अनुभवबारे एक घटना सुनाए।

‘फिल्मको सुटिङ गोदावरीको एउटा घरमा भइरहेको थियो। एक मध्यरात हामी २/३ जना मात्र त्यहाँ थियौँ। हामीले त्यहाँ भएको सामान कुर्नुपर्ने थियो। हामी त्यो बेला बाहिर निस्किनै सकेनौं। एक प्रकारको डर पैदा भयो। सायद त्यहाँ त्यस्तै खालका सामानहरू भएकाले पनि हो कि?’ उनले सुनाए।

फिल्मका लेखक समेत रहेका समरले फिल्ममा क्षमतावान् कलाकारहरूलाई लिइएको र कथा पनि दर्शकले खोजेको जस्तो भएकाले फिल्मलाई दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरे।

फिल्मकी निर्मात्री पूर्णीमा जोशीले फिल्म बनाउन शुरू गर्दा आफूसँग केवल ५ लाख रुपिँया मात्र रहेको र आफ्नो सुन समेत बेचेर फिल्ममा लगानी गरेको बताइन्। एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रियंका, दिया र सुलक्षणका साथमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुरास ढकाल, रिना ढकाललगायतले अभिनय गरेका छन्।

लोक राज जोशी र पूर्णिमा जोशी निर्माता रहेको फिल्ममा निसल पौडेल र शरद महतोको छायांकन र सुरेन महर्जनको सम्पादन रहेको छ। फिल्म आगामी माघ २५ गते रिलिज हुँदैछ।