काठमाडौं ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमद्वारा निर्मित फिल्म रंगीको ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडा प्रस्तुत गरिएको छ।
सलोनको विवाह र छोरीको जन्मबाट शुरू हुने ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा डेब्यु नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोक पनि देखाइएको छ। ट्रेलरमा केही भावुक दृश्य पनि समावेश छन्।
आगामी फागुन २ गते रिलिज हुने फिल्मले बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गर्ने निर्मात्री करिश्मा केसी बस्नेतले जानकारी गराइन्। प्रस्तुतकर्ता सलोनले रंगीलाई संघर्ष र मायाको कथाको रूपमा बुझ्न आग्रह गरे। निर्देशक सुरेश न्यौपानेले रंगी फिल्ममात्र नभई एउटा भावनासमेत भएको दाबी गरे।
अभिनेत्री नम्रताले फिल्ममा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको जनाइन्। बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मन पराउनेमा ढुक्क रहेको बताइन्। सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, रविशाल पहारीलगायतले अभिनय गरेका छन्।
फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
प्रतिक्रिया