उदयपुर।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । उद्घाटन खेलमा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ३ विजयी भएको छ ।
नगरको वडा नम्बर ६ स्थित कालिका मा.वि.को खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै वडा नम्बर ३ विजयी भएको हो । निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

खेलको तेस्रो मिनेटमा वडा नम्बर ९ जर्सी नम्बर १४ का सुशन पौडेलले सुरुवाती गोल गरेका थिए । वडा नम्बर ३ जर्सी नम्बर ३१ का नितन राई ले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको थियो भने खेलको दोश्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा वडा नम्बर ९ ले ३ गोल गर्दा वडा नम्बर ३ ले ४ गोल गरेको थियो । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ३ का गोल रक्षक किरण राई भएका थिए ।
उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले पानसमा बत्तिपालेर गरेका थिए । उनले चौदण्डीगढी नगरपालिकाले खेल र खेलाडीको स्तर वृद्धिका लागि सधैँ तत्पर रहेको समेत बताए। उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष अम्बरबहादुर खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

यस वर्षबाट नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीहरुको छनोट गरी दसौँ संस्करणको नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लबका तर्फबाट खेल खेलाउने अवसर प्रदान गराउने गरी प्रतियोगिताको सुरुवात गरिएको छ। नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै प्रतिष्ठित गोल्डकप हो । यस वर्षको दसौँ संस्करणको नारदमुनी गोल्डकप यही माघ १५ गतेबाट सञ्चालन हुँदैछ ।
प्रतिक्रिया