हराएको हिउँ : पर्यावरणीय सङ्कट

8.74k
Shares

भदौ–असोजतिर आमा मकैको खोया जम्मा गर्नुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । प्रश्न गर्थें– यो बेकामको खोया किन यति जतनसँग जम्मा गर्नुभएको ? आमा भन्नुुहुुन्थ्यो– ‘पछि चाल पाउँछस्, खुरुक्क यो माथि लगेर राख् !’ म, आज्ञापालक भई डोकामा भरिएको खोया माथि तलामा ओसारिदिन्थेँ।

मंसिरको अन्तिमदेखि नै चरिकोटमा हिमपात शुरु भइहाल्थ्यो । ऊ बेलाको समय, ढुुङ्गा–माटोको घरमा फल्याकको छानो । फागुन अन्तिमसम्मै चरिकोट हिउँले ढकमक्क हुन्थ्यो । अहिले ८८ वर्ष टेक्दै गर्नुभएका मेरो जेठा मामा नारायणकृष्ण श्रेष्ठले सुनाउनुुभयो– ‘ऊ बेला चरिकोटको चिसो, हिमालकै छेउमा बसेजस्तै हुुन्थ्यो । हिउँको कुरा छोडौँ, बिहानको शीत जमेर पुूरै चौर नै सेताम्य ।’ मलाई याद छ, हिउँको चिसोले कठ्याङ्ग्रिएको शरीरलाई तताउन आमा तिनै खोया निकालेर बाल्नुुहुुन्थ्यो । अनि बल्ल मेरो चेत खुल्थ्यो– खोयाको जतन त हिउँबाट बच्ने रक्षाकवच पो रहेछ !

अहिले समय फेरिएछ । चरिकोटको सातदोबाटो चोकमा पुुसको दोस्रो हप्ता (१० गते बुुधबार) पर्यटन व्यवसायी हरि ओलीसँग भेट भयो । उनी भन्दै थिए– ‘शनिबार त हिमपात हुुने आँकलन छ !’ हरि ओली कालिञ्चोकमा सुुनपाती होटल पनि सञ्चालन गर्छन् । उनको अपेक्षा हिमपात भएपछि कालिञ्चोकमा पर्यटक बढ्छ भन्ने थियो ।

चरिकोटमा हिमपात नभएको त निकै वर्ष बितिसकेको छ । अब त कालिञ्चोकमा पनि समयमा हिमपात हुुन छोडिसक्यो । पुुसको दोस्रो साता सकिन लाग्दा पनि कालिञ्चोकको टापुु सुुख्खा देखिन्छ । म दैनिक बिहानीपख गौरीशङ्कर हिमाल नियाल्छुु । यो मौसममा छपक्कै हिउँले छोपेर चरिकोटसँगै टाँसिएझैँ लाग्नुुपर्ने गौरीशङ्कर कालो पत्थरजस्तो मात्र देखिएको छ । गौरी (पार्वती) र शङ्कर (महादेव) को पिठ्युुँमा जमेका बाहेक बाँकी ठाँउमा हिउँ भेटिन मुस्किल पर्ने अवस्था भइसकेको छ ।
म त्यो दिनको प्रतीक्षामा छुु, जुन दिन हिउँका भुवादार छिर्काहरुसँग रमाउँदै बाल्यकालको उमेर उच्छवासले मलाई रोमाञ्चित गरिदियोस् । आमाले जोहो गर्नुभएको मकैको खोयाको आवश्यकताले उहाँको स्नेहलाई आलिङ्गन गर्दै रसाएका आँखा सुमसुम्याउने परिस्थिति बनिदियोस् । किनभने, हिउँको बहानाले म सधैँ मेरी आमालाई हृदयको केन्द्रमा सम्मानसाथ राख्न चाहन्छुु र उहाँको स्नेही स्पर्शको अनुुभूति गर्न चाहन्छु।

चरिकोटमा हिमपात नभएको त निकै वर्ष बितिसकेको छ । अब त कालिञ्चोकमा पनि समयमा हिमपात हुुन छोडिसक्यो। पुुसको दोस्रो साता सकिन लाग्दा पनि कालिञ्चोकको टापुु सुुख्खा देखिन्छ । म दैनिक बिहानीपख गौरीशङ्कर हिमाल नियाल्छु। यो मौसममा छपक्कै हिउँले छोपेर चरिकोटसँगै टाँसिएझैँ लाग्नुुपर्ने गौरीशङ्कर कालो पत्थरजस्तो मात्र देखिएको छ।

हिउँको चाहना अहिले स्वार्थको डोरीमा बटारिएको छ । म मेरी आमाको स्मरणलाई जीवन्त राख्न हिउँ परोस् भन्ने चाहन्छुु । पर्यटन व्यवसायी हरि ओलीहरु हिमपातले पर्यटकलाई भित्र्याउन सकिन्छ भन्ने चाहन्छन् । खासमा, हामी सबै हिमपातको तन्कँदो दूरीसँग बेखबरझैँ छौँ । हिमपातको तन्कँदो दूूरी पर्यावरणीय संकटको सङ्केत हो भन्ने कुरासँग हामी जानकार रहे पनि बेखबर बनिरहेका छौँ ।

भर्खरै मैले ‘अनलाइन खबर’मा एउटा समाचार पढेँ । जलवायु परिवर्तनले निम्त्याएका विपत्तिहरुको बारेमा । सन् २०२४ जलवायु परिवर्तनको असरको हिसाबले सबैभन्दा भयावह वर्ष रहेको खबरमा उल्लेख गरिएको छ । जलवायु परिवर्तनप्रति हामी सचेत बनेनौँ भने अबका वर्षहरु झन् कति भयावह होलान् ? परिकल्पना गर्न मुस्किल पर्छ ।

जलवायु परिवर्तनले सन् २०२४ मा विशेष गरी गर्मी, बाढी–पहिरो, चक्रवात, खडेरी, डढेलो, आर्थिक क्षतिजस्ता कुरामा असर गरेको खबरमा उल्लेख छ । यो दोलखाको या नेपालको मात्र विषय हैन । विश्वभरि नै जलवायु परिवर्तनको असरले सबैलाई आच्छुु–आच्छुु पारिदिएको छ । सुुख्खा पहिरो, अतिवृष्टि र अनावृष्टि, काला हिमालहरु, उत्पादनमा ह्रास, मानसिक तनाव यी सबैका कारक कहीँ न कहीँ जलवायुु परिवर्तनलाई नै मान्नुुपर्छ । जलवायुु परिवर्तन भनेको मौसमी चक्रमा परेको असर हो । जसले प्रकृतिका सबै कुरालाई थिलथिलो बनाइरहेको छ ।

नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले एउटा पुुस्तक लेखेका छन्– ‘पर्यावरणीय संकट’ । त्यसमा समेटिएका सातवटा लेखहरुमध्येको ‘मेरी छोरीले सास फेर्न सक्ने देश’ शीर्षकको लेखभित्रका शाब्दिक प्रतिविम्ब जलवायु परिवर्तनसँग जोडिएका भयावह विपत्तिको विस्फोटक शुुरुवात हो । बागमती प्रदेशका तत्कालीन वनमन्त्री विशाल खड्काले आफूले धेरै स्नेह गरेकी छोरीलाई गर्मीकै कारण हेटौडामा सँगै राख्न नसकेको बाध्यता समग्र प्राकृतिक सङ्कटको उदाहरण हो । जलवायुु परिवर्तनको असर र त्यसले बालबालिकाको मनस्थितिमा परेको छाप भोलिका पुस्ताको भविष्यको सङ्केत हो भन्न सकिन्न र !

हाम्रो बाल्यकाल प्रकृतिको नियमसँग रत्तिएर बित्यो । मौसमअनुसारको सुुगन्धले बालमस्तिष्कमा सकारात्मक प्रभाव परेको थियो। ऊ बेलाको मौसमी प्राकृतिक सुुगन्ध, छायाचित्र बनेर मनमा गढेको छ । त्यसैले पनि हामी जलवायु परिवर्तनको असरप्रति बढी नै सचेत छौँ । अहिलेका बालबालिका जलवायुु परिवर्तनको कोपभाजनमा परेका छन् । यसले समग्र देशकै भविष्यप्रति चिन्ता थपिदिएको छ ।

पृथ्वीमा, बढ्दो जनसंख्या र त्योसँग भित्रिएको विकृति, जलवायुु परिवर्तनको एउटा कारण हुुनसक्छ । अर्को कारण, समयको गतिसँग हुत्तिएको प्रविधिको विकास र त्यसको व्यवस्थापनमा हामीले देखाएको उदासीनता पनि होला । यो सबै कारणको अन्त्य असम्भव छ । तर, नियन्त्रण सम्भव र आवश्यक छ । नियन्त्रणको पहलकदमी कसले गर्ने ? जवाफ सहज छ– सबै नीतिको मूल नीति राजनीति, त्यसैले जलवायु परिवर्तनका असर कम गर्न मूलतः राजनीतिक नेतृत्वले नै सोच्नुुपर्छ । संघीयतापछिको राज्य संरचनामा तीन तहको सरकार छ । यी तीनै तहका सरकारले विज्ञहरुसँग परामर्श गरेर जलवायुु परिवर्तनका असरलाई कम गर्ने नीति ल्याउन जरुरी छ ।

हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा, जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार प्रतिबद्ध रहेको र नेपालमा जलवायुु परिवर्तनले पारेको असरबारे विश्व समुुदायको ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रतिबद्धता हरेक स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिकरुपमा व्यक्त गर्ने र सोही अनुसारको कार्यक्रम अघि बढाउनुुपर्ने देखिन्छ। पूूर्व प्रदेश वनमन्त्री विशाल खड्काले आफ्नो कार्यकालमा जलवायुु परिवर्तनको असर कम गर्न केही नीतिगत र केही कार्यगत अभियान शुुरु गरेका हुुन्, तर त्यसको निरन्तरता भयो कि भएन भन्नेबारे स्वयं विशाल खड्का नै अनभिज्ञ छन् जस्तो लाग्छ।


‘पर्यावरणीय सङ्कट’ पुुस्तक अध्ययन गर्दा जलवायुु परिवर्तनको असर न्यूनीकरण गर्न राजनीतिक नेतृत्व सचेत बन्नुुपर्ने कुुरामा पूर्वमन्त्री खड्का सहमत छन् जस्तो लाग्छ। उनले पुुस्तकमा उल्लेख गरेका छन्– ‘माओवादी केन्द्र नै त्यस्तो पार्टी हो, जसले आठौँ महाधिवेशनबाट आफ्नो राजनीतिक दस्तावेजमा पर्यावरणबारे विषयको उठान गरेको थियो । तर, माओवादी केन्द्रको सो दस्तावेजमा चासो छ, चिन्ता छैन । विषय छ, माक्र्सवादी दृष्टिकोण छैन। कारण र समाधानबारे दस्तावेज मौन छ।’
पुुस्तकमा उनले अर्को पनि महत्वपूर्ण कुरा उल्लेख गरेका छन् । दलका घोषणापत्रमा वातावरणका मुद्दा उठाउनुुपर्ने विषय । पूर्वमन्त्रीको यो तथ्यगत स्वीकारोक्तिलाई सबै दलले मनन गरेर आफ्ना घोषणापत्रमा जलवायुु परिवर्तनको विषय समावेश गर्नुपर्छ । र, भोलिको नेपालको भविष्य जोडिएको नीति र नेतृत्वमा ध्यान दिनुुपर्छ ।

हामीले समयको रफ्तारमा दौडिएको प्रविधिको विकासलाई अवरोध गर्न सक्दैनौँ । गर्न हुुँदैन पनि तर प्रकृतिको नियमसँग प्रविधिको विकासलाई फ्युजन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने अभियान चलाउन सक्छौँ । तीव्र शहरीकरणले निम्त्याएको कङ्क्रिट बस्तीलाई प्रकृतिको तापक्रम घटबढ नहुने प्रविधिको उपयोग गरेर रुपान्तरण गर्न सक्छौँ । दोलखाको कालिञ्चोक, शैलुुङ, चेर्दुङजस्ता प्राकृतिक सुन्दरताले सिँगारिएको उच्च पहाडी भेगलाई भर्जिन चुुचुुरा बनाउने अभियान चलाउन सक्छौँ ।

प्रकृतिलाई तस्वीरमा कैद गर्दै प्रविधिको गलत प्रयोग गरेर त्यसको दोहन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित भयो भने हाम्रो प्राकृतिक सुन्दरता त्यही तस्वीरमा मात्र सीमित बन्नेछ । भोलिका पुस्ताले चरिकोटमा जस्तै कालिञ्चोक, शैलुुङ, चेर्दुङजस्ता उच्च पहाडी भेगमा कुनै समय असाध्य धेरै हिमपात हुुन्थ्यो रे ! भनेर गनगन गर्ने समय आउनेछ ।

परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (ईबीए) ले जलवायुु परिवर्तनको असरलाई कम गर्न वन मन्त्रालयसँगको समन्वयमा विभिन्न कार्यक्रम शुुरु गरेको छ । कार्यक्रमको मुुख्य उद्देश्य प्रकृतिको विगतलाई समयक्रममा देखिएका आधुनिक आगतले विस्थापित नगरुन् भन्ने देखिन्छ । ईबीएले चौँरीपालन, चरनक्षेत्रको पुनस्र्थापना, गोठ सुधार, संरक्षण, पोखरी निर्माण, कान्ला संरक्षणलगायतका प्रकृति संरक्षणको परम्परागत विधिलाई आधुनिक प्रविधिसँग फ्युजन गर्दै जलवायुु परिवर्तनको असरलाई कम गर्ने अभियान चलाएको छ । यो अभियान हाम्रो अभियान हो । समयको पदचापमा प्रविधिको प्रयोग गर्दै प्रकृति क्षयीकरण कम गर्ने दायित्व हामी सबैको हो । त्यसैले यो अभियानमा हामी सबै जोडिनुुपर्छ । अनि राजनीतिज्ञ विशाल खड्काको ‘पर्यावरणीय सङ्कट’ पुस्तकको औचित्य, मकैको खोया बालेर अग्निसँग आमाको स्नेह साक्षात्कार गर्ने मेरो लालसा र हिउँको बस्तीमा पर्यटन भित्र्याउने हरि ओलीहरुको चाहना पूरा हुुनसक्छ ।