राष्ट्र बैंकमा १३ खर्ब ६७ अर्ब थुप्रियो तरलता


काठमाडौं ।

वित्तीय प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकमा १३ खर्ब ६७ अर्ब रुपैयाँ थुप्रिएको छ। निक्षेप निरन्तर बढ्नु, कर्जाको माग घट्नु तथा रेमिट्यान्समा भएको सुधारका कारण प्रणालीमा अधिक तरलता बढेको हो।

गत साउनमा मात्रै २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर घट्न थालेपछि राष्ट्र बैंकले बजारबाट पैसा खिच्दै आएको छ।

राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरण जारी गर्दैछ। यसअघि असोज २ गते ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरिएको थियो।

राष्ट्र बैंकका अनुसार बिहीबार वित्तीय प्रणालीमा करिब ४८ अर्ब रुपैयाँ तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा राखेको रकम परिपक्व हुन थालेपछि पुनः तरलता खिच्न नयाँ उपकरण जारी गरिएको हो।

हाल राष्ट्र बैंकको बैंक दर ५.७५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।