संस्थापनको असोज, देउवा पक्षको मंसिर—कुन महाधिवेशनमा जुट्छ कांग्रेस ?
संस्थापन पक्ष
असोज १६–१९
काठमाडौं
शनिबारदेखि वडा अधिवेशन सुरु
देउवा पक्ष
मंसिर २१–२३
काठमाडौं
असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने
कांग्रेस विवादका तीन धार
गगन पक्ष
संवाद र सहमतिबाट देउवा पक्षलाई समेट्ने प्रयास
देउवा पक्ष
छुट्टै कार्यतालिका र मंसिरमा महाधिवेशन
शेखर पक्ष
संवाद, सहमति र एकताबाट महाधिवेशन गर्नुपर्ने धारणा
काठमाडौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया विवादकै बीच अघि बढेको छ । पार्टीभित्रको विवाद समाधान गरेर सबै पक्षलाई एउटै महाधिवेशनमा सहभागी गराउने प्रयास भइरहे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले संस्थापन पक्षको कार्यतालिका अस्वीकार गर्दै छुट्टै महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसको महाधिवेशनमै विभाजनको छाया परेको छ ।
संस्थापन पक्षले शनिवारदेखि वडा अधिवेशन सुरु गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यही कार्यतालिकाअनुसार शनिवारदेखि वडा तहबाट महाधिवेशन प्रक्रिया सुरु भएको हो । तर, पूर्वसभापति देउवा पक्ष भने यस प्रक्रियामा सहभागी नभई मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारीमा छ ।
यसले कांग्रेसभित्र अहिले सबैभन्दा ठूलो प्रश्न खडा गरेको छ । १५औँ महाधिवेशनमा कांग्रेसका सबै नेता–कार्यकर्ता एउटै प्रक्रियामा सहभागी हुन्छन् कि पार्टीभित्र समानान्तर महाधिवेशनको अभ्यास सुरु हुन्छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र उत्पन्न विवाद समाधान हुन नसक्दा महाधिवेशन प्रक्रिया नै दुई धारमा विभाजित भएको हो ।
संस्थापन पक्षले विशेष महाधिवेशनअघि कायम रहेका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खुला रहेको बताउँदै आएको छ । सभापति गगन थापाले समेत पूर्वसभापति देउवासहित असन्तुष्ट पक्षलाई महाधिवेशन प्रक्रियामा समेट्न अन्तिम समयसम्म प्रयास गर्ने बताउनुभएको छ ।
सभापति थापाले पार्टी एकता कायम राख्न आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै महाधिवेशनको उद्घाटनमा पूर्वसभापति देउवालाई समेत सहभागी गराउने प्रयास भइरहेको दाबी गर्नुभयो । पछिल्लो सार्वजनिक अभिव्यक्तिमा उहाँले देउवाले महाधिवेशन उद्घाटन गरिदिनु आफ्ना लागि सम्मानको विषय हुने बताउनुभएको छ ।
तर देउवा पक्षले भने संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियालाई स्वीकार गरेको छैन । देउवा पक्षले आफ्नै कार्यतालिका सार्वजनिक गर्दै मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि वडा तहदेखि नै छुट्टै प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कांग्रेसभित्रको पछिल्लो विवाद अब केवल महाधिवेशनको मिति वा कार्यतालिकामा सीमित छैन । पार्टीको वैधानिकता, विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वको स्वीकार्यता, पुरानो केन्द्रीय संरचनाका पदाधिकारी तथा सदस्यको भूमिका र आगामी नेतृत्व चयनको प्रक्रियालाई लिएर विवाद तीव्र बन्दै गएको देखिन्छ ।
देउवा पक्षले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्व र त्यसले अघि सारेको महाधिवेशन प्रक्रियामाथि प्रश्न उठाउँदै आएको छ । अर्कोतर्फ संस्थापन पक्षले विशेष महाधिवेशनपछि आफूहरू वैधानिक प्रक्रियाबाट अघि बढिरहेको दाबी गर्दै आएको छ । यही दुई दाबीका कारण कांग्रेसका नेता तथा कार्यकर्ता कुन महाधिवेशन प्रक्रियामा सहभागी हुने भन्ने अन्योलमा पर्ने अवस्था बनेको छ ।
देउवा पक्षले मंसिरमा छुट्टै महाधिवेशन गर्ने घोषणा गरेपछि कांग्रेसको सांगठनिक संरचना वडा तहदेखि नै समानान्तर बन्न सक्ने जोखिम बढेको छ । देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी क्रमशः पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
देउवा पक्षका नेता विमलेन्द्र निधिले आफ्नो समूहले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म सबै तहका अधिवेशन गर्ने बताउनुभएको छ । संस्थापन पक्षले जिल्ला र प्रदेश तहको अधिवेशन नगर्ने निर्णय गरेकोप्रति प्रश्न उठाउँदै निधिले आफूहरूको समूहले भने सबै तहको अधिवेशन गर्ने दाबी गर्नुभयो । उहाँले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएर मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको बताउनुभयो । निधिको भनाइले पनि कांग्रेसभित्र दुई पक्षबीचको विवाद अब केन्द्रीय नेतृत्वको विषयमा मात्र नभई संगठनका तल्ला तहसम्म पुग्ने संकेत गरेको छ ।
संस्थापन पक्षका सभापति थापाले भने पार्टी विभाजनको अवस्थामा नपुगोस् भनेर अन्तिम क्षणसम्म संवाद र सहमतिको प्रयास गर्ने बताउनुभएको छ । थापाले आफूलाई महाधिवेशन तत्काल गराउँदा राजनीतिक रूपमा अनुकूल हुने भए पनि पार्टीभित्र सहमति कायम गर्न आफूले लामो समयदेखि प्रयास गरेको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार विशेष महाधिवेशनपछि अदालतसँग सम्बन्धित विषयमा फरक परिस्थिति बने पनि विवादको समाधान राजनीतिक समझदारीबाटै खोजिनुपर्ने उहाँको धारणा रहेको छ । उहाँले देउवा पक्षले अदालतसँग सम्बन्धित विषयबाट पछि हटेर राजनीतिक समझदारीका लागि तयार भए महाधिवेशनको मिति सार्नसमेत छलफल गर्न सकिने संकेत गर्नुभएको छ । तर असोज १६ गतेभन्दा पर महाधिवेशन लैजान नसकिने उहाँको भनाइ छ ।
यसबीच थापाले कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई कुनै अलमलमा नपरी निर्धारित महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ । अर्कोतर्फ पूर्वसभापति देउवाले संस्थापन पक्षले अघि सारेको असोजको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ । देउवाले आफ्नो पक्षबाट मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ । उहाँले पार्टीभित्रको विवाद अन्त्य गर्दै एकता र सहमतिका आधारमा महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभएको छ । कांग्रेसका दुई प्रमुख धारबाट आफ्ना–आफ्ना महाधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई सार्वजनिक आह्वान भएपछि विवाद थप पेचिलो बनेको छ ।
कांग्रेसको महाधिवेशन विवाद समाधानका लागि अदालतको बाटोसमेत खोजिएको थियो । तर १५औँ महाधिवेशन रोक्न माग गर्दै परेको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । संस्थापन र देउवा पक्षले फरक–फरक मितिमा महाधिवेशन गर्ने तयारी गरिरहेका बेला अदालतबाट तत्काल रोक लगाउने अवस्था नबनेपछि दुवै पक्ष आफ्नै प्रक्रियामा अघि बढेका छन् । यसले अब विवादको राजनीतिक समाधान खोज्नुपर्ने दबाब दुवै पक्षमाथि बढाएको छ ।
कांग्रेसभित्र देउवा र गगन पक्षबाहेक अर्को धार पनि छ । नेता शेखर कोइराला पक्षले दुवै पक्षले अघि सारेका समानान्तर प्रक्रियाभन्दा संवाद, सहमति र एकताको बाटोबाट महाधिवेशन गर्नुपर्ने धारणा अघि सारेको छ ।
शेखर पक्षले असोजको महाधिवेशन तत्काल अघि नबढाउन र विवाद समाधान गरेर मात्रै महाधिवेशनमा जानुपर्ने धारणा राख्दै आएको छ । यसले कांग्रेसभित्र विवाद केवल दुई समूहबीचको मात्रै नभई फरक–फरक राजनीतिक धारमा विभाजित भएको देखाएको छ । महाधिवेशन प्रक्रिया वडा तहमा प्रवेश गरिसकेको अवस्थामा अब कांग्रेसका हजारौँ क्रियाशील सदस्यले कुन प्रक्रियालाई आधिकारिक मानेर सहभागी हुने भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
एउटै पार्टीका दुई समूहले फरक मितिमा वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका कार्यक्रम अघि बढेमा प्रतिनिधि छनोट, अधिवेशनबाट निर्वाचित हुने नेतृत्व र त्यसको वैधानिकताबारे थप विवाद उत्पन्न हुन सक्ने देखिन्छ । त्यसैले अहिले कांग्रेसभित्रको मूल चासो केवल ‘महाधिवेशन कहिले हुन्छ ?’ भन्नेमा छैन । मुख्य प्रश्न ‘कुन महाधिवेशनमा कांग्रेसका सबै पक्ष सहभागी हुन्छ । ’ भन्ने बनेको छ ।
यदि देउवा पक्ष असोजको महाधिवेशनमा सहभागी भएन र संस्थापन पक्ष पनि मंसिरमा हुने देउवा पक्षको प्रक्रियामा सहभागी भएन भने कांग्रेसको १५औँ महाधिवेशन एउटै मञ्चमा सम्पन्न हुने सम्भावना थप चुनौतीपूर्ण बन्नेछ । दुवै पक्षले आ–आफ्नो प्रक्रियालाई निरन्तरता दिएमा त्यसपछि पार्टीको आधिकारिक नेतृत्व र सांगठनिक संरचनाबारे अर्को चरणको विवाद सुरु हुन सक्ने देखिएको छ ।











प्रतिक्रिया