अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ।

देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक तयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले बुधबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षाका कारण बाढी, पहिरो लगायतका प्राकृतिक विपद् निम्तिन सक्ने र त्यसबाट जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई पूर्वतयारी गर्न आग्रह गरेको हो।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनेको छ। साथै, आकस्मिक स्वास्थ्य सेवामा कुनै अवरोध नआउने गरी सेवा निरन्तरता सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

सम्भावित विपद्का समयमा बिरामीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न तथा आवश्यक ठाउँमा रेफर गर्न एम्बुलेन्स सेवाको समन्वय र सञ्चालन प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ। आवश्यक परेमा संघीय तथा प्रदेशस्तरमा रहेका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी सेवा व्यवस्थापन गर्नसमेत भनिएको छ।

थप जानकारी वा आवश्यक सहयोगका लागि मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेका छन्।