काठमाडौं ।
निजामती कर्मचारीलाई कमान्ड गर्ने र मार्ग निर्देशन गर्ने मुख्य कानुनको रूपमा रहेको निजामती सेवा ऐन र नियमावलीलाई अधिकांश कर्मचारीले बेवास्ता गर्दै आइरहेका छन्। सो ऐन र नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थालाई अधिकांश कर्मचारीले पालना गर्न नसक्दा निजामती क्षेत्रमा भ्रष्टाचार हुने क्रम बढेको विज्ञहरूले बताएका छन्।
राष्ट्रसेवक कर्मचारीले सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको इमानदारितापूर्वक सेवा गर्ने कसमसमेत खाने गरेका छन् तर उनीहरूले काम गर्दा भने त्यसरी खाएकोे सो कसमलाई आफैं बिर्सने गरेका छन् । सो कसमविपरीत अधिकांश कर्मचारीले आफ्नै स्वार्थअनुसार काम गर्ने गरेका छन् । त्यसैले राष्ट्रसेवकको दर्जा पाउँदै आइरहेका कर्मचारीहरू पछिल्लो दिनमा सेवक नभएर शासकजस्ता बन्न पुगेका छन् ।
विशेष गरी निजामती सेवा ऐनको परिच्छेद ७ मा कर्मचारीको आचरण सम्बन्धमा महत्वपूर्ण व्यवस्था गरिएको छ। आचरण ७ का विभिन्न दफामा कर्मचारीलाई अनुशासित, इमानदार, कर्तव्यनिष्ट तथा सुशासनप्रेमी बनाउने गरी व्यवस्था गरिएको छ। तर, अधिकांश कर्मचारीले सो परिच्छेद र महत्वपूर्ण दफालाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेको देखिएको छ।
कतिपय कर्मचारीलाई सो परिच्छेद टाउको दुखाइ नै हुने गरेको बताइएको छ । उनीहरूले आफ्नो आचरणसम्बन्धी प्रावधानलाई गम्भीरतापूर्वक लिने हो भने पनि भ्रष्टाचारजन्य कार्यमा संलग्न हुने अवस्था नआउने बताइन्छ । तर, अधिकांश कर्मचारीले आचरणसम्बन्धी प्रावधानलाई पालना गर्न नसक्दा उनीहरू विभिन्न खाले भ्रष्टाचार काण्डमा मुछिनुपरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुछिने निजामती कर्मचारीको संख्या दिनानुदिन बढिरहेको जनाएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३ सय १० जना कर्मचारी भ्रष्टाचार मुद्दामा परेका थिए भने आर्थिक वर्ष २०७९/८० मा ३ सय ५६ जना र आर्थिक वर्ष २०८०/८१ मा ५ सय २४ जना कर्मचारी भ्रष्टाचार मुद्दामा परेका थिए।
उच्च तहमा रहेका सरकारका पदाधिकारी तथा अधिकारीहरूको बोलाइ र काम गराइमा उल्टोपनका कारण पनि भ्रष्टाचार र कर्मचारीले घुस खाने क्रममा कमी नआइएको पाइन्छ। निजामती सेवा ऐनको परिच्छेद ७ को दफा ४७ मा कामको सिलसिलामा कुनै पनि कर्मचारीलाई दान, उपहार, चन्दा आदि प्राप्त गर्न र कुनै पनि सापटी लिन प्रतिबन्ध लगाइएको छ। तर, अधिकांश कर्मचारी विभिन्न बहानामा विभिन्न पक्षबाट उपहार लिन भने खप्पिस रहेको बताइएको छ।
सो दफामा त्यस खालका कुनै पनि गलत सुविधा नलिन कर्मचारीलाई भनिएको छ। यस्तै, दफा ४१ मा समय पालना र नियमितताका बारेमा समेत व्यवस्था गरिएको छ तर राष्ट्रिय सतर्कता केन्द्रले गर्ने हाजिरी छड्केमा सयौं कर्मचारीहरू कारबाहीमा पर्ने गरेका छन्। यसले कर्मचारीले ऐनको दफा ४१ लाई पनि बेवास्ता गर्ने देखाएको छ।
यसै गरी दफा ४२ मा निजामती कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारिता र तत्परताका साथ पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, कर्मचारीले सेवाग्राहीप्रति आदरभाव देखाउनुपर्ने प्रावधान ऐनमा भए पनि अधिकांश कर्मचारीहरू सेवाग्राहीसँग झर्कने तथा रिसाउने गरेका छन्। यसै गरी आचरणसम्बन्धी परिच्छेदमा राजनीतिमा भाग लिन नहुने, कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार, व्यवसाय गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नपाइनेलगायतका प्रावधान रहेका छन्। तर, यस्ता अधिकांश प्रावधानलाई कर्मचारीले बेवास्ता गर्ने गरेको बताइएको छ।
कर्मचारीहरूले आचरणसम्बन्धी प्रावधानलाई उल्लंघन गर्न तालुक निकायको रूपमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता कर्मचारीलाई अनुगमन तथा कारबाही गर्न सकेका छैनन्। कारबाही गर्ने निकायमा रहेका उच्च तहका कर्मचारीहरूले नै आचरण पालना गर्न नसकेको गुनासाहरू आउने गरेका छन्। कर्मचारी सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले पनि कर्मचारीहरुलाई ऐन नियम पालनाका लागि पैरवी गर्न सकेका छैनन् भने ट्रेड युनियनकै पदाधिकारीमाथि पनि आचरण उल्लंघन गर्ने गरेको आरोप लाग्ने गरेको छ।
सरकारी सेवामा दण्डहीनता बढेको र जतिसुकै घुस खाने र भ्रष्टाचार गरेको पाइए पनि उपल्लो तहबाट कारबाही नहुने भएपछि कर्मचारीहरू घुस खान हौसिने गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार माथिसम्मै घुस रकम भागवण्डा हुने गर्दा तैँ चुप मै चुप हुने र कसैले कसैलाई कारबाही नगर्ने प्रवृत्ति सरकारी सेवामा मौलाएको र आचरणको विषयलाई सबैतिरबाट पूर्णरूपमा बेवास्ता हुने गरेको पाइएको हो।











प्रतिक्रिया