तनावका दृश्यबाट कलामा बदलिएका आशा

6.96k
Shares

बिहानको ७ बजेको थियो, भर्खर उज्यालो भएको थियो । गर्मी घट्दै जाँदा चित्रकार अजय देशार आफ्नो देशको सीमाबाट करिब १५ सय किलोमिटरको यात्रा गरेर अन्तर्राष्ट्रिय कलापर्व हुने स्थानमा ६ जनाको टिमसँगै पुगेका थिए। नयाँ स्थान भए पनि कलाको शुरुवात घर र विद्यालय नै हुने सोचका साथ उनी एक विद्यालयमा पुगेर बालबालिकाहरुसँग कुराकानी गर्ने योजनामा थिए। त्यसैले उनी बिहानै केही चित्रकलाका सामग्री साथै लिई कार्यक्रम रहेको स्थानभन्दा करिब २० किलोमिटर दूरीमा रहेको एक विद्यालयमा चित्रकलाका विषयमा कुराकानी गर्न जाने तयारी गर्दै थिए । उक्त विद्यालयमा जानको लागि विद्यालयको प्रतिनिधिको आगमन प्राविधिक कारणले नहुने जानकारी पाएपछि उनी आफ्नो टिमसहित केही समयमा गाउँ घुम्न निस्किए । गाउँ घुम्दै गर्दा फर्किने बाटो झुक्किएपछि यताउता हेर्दै गर्दा गर्दा एक ५० वर्ष उमेरका व्यक्ति हिन्दीबाट बोल्छन्, ‘आपलोग इदर आइएन, चाय बगेरा कुछ पी लिजिए ।’ एक अञ्जान व्यक्तिले बोलाएको देखेर सबैजना अचम्ममा पर्दै नजिक जान्छन् । ती व्यक्तिको नजिक पुग्दा उनी आत्तिरहेका थिए, अधैर्य थिए ।

ती अपरिचितको नजिक पुग्नासाथ उनले आफ्ना भनाइ थपे, ‘आपलोग नेपाल से कलापर्व मे भाग लेनेके लिए आए हुए हे । मेरी बेटी भी उस पर्वमे चित्रकला मे भाग ले रही हे, आपलोग देखिएन, उसका बनाया हुआ चित्र ।’ उनको आग्रहपश्चात् चित्र हेर्दै चित्रकार देशार र देशारसँगै रहेका चित्रकार बालकिशोर चौधरीले उक्त चित्र राम्रो रहेको र केही विषय प्राविधिकरुपमा मिलाउनुपर्ने सुझाए । बुबाले छोरीले पहिले बनाएको स्केच चित्रहरु देखाउँदै आफ्नी छोरीले चित्रमा रुचि राखेकाले छोरीको सहयोग गरेको सुनाए । छोरीले आफू चित्रकलाको विद्यार्थी नभएको र आफ्नो चित्रलाई राम्रो बनाउन बुुबाले दुई दिनदेखि काममा नगएर सहयोग गरिरहेको बताइन् ।

उनले भनिन्, ‘मे तो स्केच कर्तिथी, पहली बार क्यानभास मे एक्रेलिक कलर चलारही हुँ, इसलिए कलर प्रयोग कर्ने मे कुछ दिक्कत हो रही हे ।’ छोरीको उत्साह र एक बुबाले छोरीप्रति देखाएको त्यो माया एवं उत्प्रेरणा देखेर चित्रकार देशार भावुक भए। उनले चित्रमा केही सुधारका लागि आफैं केही स्थानमा कुची र रंगले क्यानभास छोएर मिलाइदिए । मिलाउँदै गर्दा चिया आइपुग्यो । दूध हालेको चिनी कडा हालेर कटिङ चाय खाने उक्त समाजमा चिनी नहालेको ब्ल्याक टी बनाउँदा एकदमै कडा कालो चिया बनेछ । देशारले सानो चिया कपको आधा पनि बल्ल–बल्ल पिए । चित्रकार चौधरीले त पिउनै सकेनन्, नदेख्ने गरी बाहिर आएर विसर्जन गरिदिए । पिउन सक्दिन भन्ने आँट उनमा थिएन । चित्रकार देशारले चित्रमा बाँकी मिलाउनुपर्ने विषय बताउँदै कलापर्वमै भेट्ने र प्रतियोगितामा भाग लिएपश्चात् राम्रो गुरुसँग कम्तीमा केही महिना सिक्नको लागि सुझाव दिई निस्किए । त्यहाँबाट निस्किएपश्चात् छोरीको कुरा केही नसुन्ने समाजमा छोरीका लागि बाबुले गरेको त्याग जहीँतहीँ नहुने विषयमा कुराकानी गर्दै उनीहरु कलापर्व हुने स्थानमा फर्किए ।

यो घटनाको अघिल्लो साँझ कलापर्वमा भाग लिने करिब २ सयभन्दा बढी चित्रकारको बीचमा एक समूहका तीनजना एकदमै गम्भीर भएर बसिरहेका थिए । उनीहरुको भावभङ्गी देख्दा ठूलै घटना भएको जस्तो लाग्थ्यो । चित्रकार देशार उनीहरुको अगाडि पुगेपछि उनीहरुले केही सहयोग गर्ने आशा राखे । उद्घाटन कार्यक्रममा केही शब्द साटासाट भएकोले उनीहरुले चिनेर त्यो अपेक्षा राखेका थिए । चित्र बनाउँदा सोचेको विषय बनाउन नसक्दा उनीहरु यति अधैर्य बनिरहेका थिए कि आकाश नै खसेको जस्तो लाग्दै थियो । उनीहरुमध्ये दुईजना प्रतियोगितामा भाग लिएका र एकजना लेक्चरर आएका रहेछन् । लेक्चरर झन् बढी तनावमा देखिन्थिन् । उनी स्वभावले कम बोल्ने र हरेक विषयलाई गम्भीर भएर सोच्ने रहिछिन् । दृश्य देख्दा लाग्थ्यो, विद्यार्थीभन्दा शिक्षकमा धैर्यताको सीमा नाघेको थियो । चित्रकार देशारले तिनैजना चित्र कोरिरहेको कोठामा गएर चित्रमा समस्या भएका केही विषयमा आफैं टच गरिदिए र केही विषयका लागि सुझाव दिए ।

यी दृश्यहरु थिए, भारतको राजस्थानको टोंक भन्ने स्थानमा चलिरहेको १८ औं कलापर्व क्रेंयासका । कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म चलेको उक्त कलापर्व अन्तरंग कला एवं एजुकेसन वेलफेयर सोसाइटी तथा राजस्थान ललितकला एकेडेमीद्वारा आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालबाट १० जनासहित विश्वभरका २ सयभन्दा बढी कलाकारहरु सहभागी भएका थिए । कलापर्वमा कला कार्यशाला, चित्रकला प्रदर्शनी, अन्तर्राष्ट्रिय र राष्ट्रिय चित्रकार सम्मान आदि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । यसै गरी विद्यालय, विश्वविद्यालय तथा खुला चित्रकला प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रममा चित्रकार देशारलाई अन्तर्राष्ट्रिय कलारत्न पुरस्कारबाट सम्मानित गरिएको थियो । उनीसँगै मिथिला चित्रकलामा कार्य गरिरहेकी चित्रकार सुनैना ठाकुरसमेत सम्मानित हुनुभएको थियो । नेपाल छ्वाली चित्रकार राजेश महर्जनलाई युवा कलारत्न पुरस्कारबाट सम्मानित गरिएको थियो।

नेपालबाट सहभागी भएका चित्रकारहरुमा योङ पिकासोका निर्देशक देशार, चित्रकार ठाकुरसहित र छ्वाली चित्रकार महर्जनसहित चित्रकारहरु बालकिशोर चौधरी, प्रिन्स महर्जन, नरबहादुर वि.क., सुनैना ठाकुर, दोर्जे गुरुङ लामा, निदेश श्रेष्ठ र चित्रबहादुर बुढा मगरको सहभागिता रहेको थियो । उनीहरुले कलाचित्र कार्यशालामा भाग लिएर चित्र प्रदर्शनीसमेत गरेका थिए।

उक्त प्रदर्शनीको कार्तिक ३० गते गरिएको उद्घाटन पनि केही फरक थियो । कलापर्वमा आएका सबैलाई तीनवटा लाइन बनाएर उभ्याइयो । स्थानीय बाजागाजाहरु सहनाई, नगाडा र ढोलसहित कार्यक्रम स्थलमा नेपालबाट आएका चित्रकार र अतिथिहरुलाई अग्रभागमा राखेर कार्यक्रमस्थलको वरिपरि घुमाइयो। अतिथिहरु र सहभागी सबैलाई राजस्थानी बाजामा नृत्य गर्दै कार्यक्रम स्थलमा पुनः पुर्‍याइयो। कार्यक्रममा फूलको वर्षा गरियो। सबैलाई मोतिको मालासहित स्वागत गरिएको दृश्य रमाइलो थियो।

कलापर्वमा उद्घाटन र दोस्रो दिनको साँझ सांगीतिक कार्यक्रममा सहभागीमध्येबाटै गायन र नृत्य राखिएको थियो । दुवै दिन करिब ३ घण्टा सो कार्यक्रम चलेको थियो । राजस्थानमा कार्यक्रममा खाना–खाजाको व्यवस्था गर्दा आचार राखिँदो रहेनछ । नेपालबाट आएका व्यक्तिलाई आचार नभई नहुने भनेर चित्रकार देशारले हाँसो–ठट्टा गर्दै थिए । सँगै भएका चित्रकार राजेश महर्जन र चित्रकार प्रिन्स महर्जनले अचारविनाको खाना र मासुविनाको भोज उस्तै हुने भनेर मजाक गर्दै थिए।

त्यहाँको औपचारिक कार्यक्रमको फरक पक्ष भनेको त्यहाँ कुनै राजनीतिक व्यक्तिहरुको सहभागिता थिएन। अर्को विशेष पक्ष औपचारिक कार्यक्रममा मन्तव्य दिनेहरुले ३ मिनेटभन्दा लामो भाषण गरेका थिएनन् । कार्यक्रममा सहभागी भएका प्रमुख अतिथिले पनि जम्मा २ मिनेटमा आफ्नो भनाइ सम्पन्न गरेका थिए। तीनदिने कार्यक्रमको उद्घाटनमा कार्यक्रममा १० जनाले भनाइ राख्दा पनि २५ मिनेटभित्र मन्तव्य सम्पन्न भइसकेको थियो। पूरै औपचारिक कार्यक्रमको राम्रो पक्ष त्यहाँ भाषणभन्दा कार्यक्रमको जुन उद्देश्य थियो, त्यही भएको थियो। फरक यति थियो, स्टेजमा भएका अतिथिहरुलाई ३ पटकसम्म चिनाइयो।
कार्यक्रममा भएको चित्रकला प्रतियोगितामा एक विश्वविद्यालयबाट आएकी जुन चित्रमा चित्रकार देशारले केही मिलाइदिएका थिए, उनले युवा कलारत्न पुरस्कार पाइन् । नगद पुरस्कार पनि जितिन्। बिहान घरमै भेटेकी विद्यार्थी आफ्नो चित्रले पुरस्कार नजिते पनि उत्साहित थिइन् । कार्यक्रममा सहभागी उनकै साथीलाई बुबाले भाग लिन निरुत्साहित गरेकोमा आफ्नो बुबाले धेरै सहयोग गरेको सुनाइन् । आफ्नो चित्र अरु चित्रकारकै जस्तै राम्रो बनेकोमा खुशी थिइन्। जे होस्, चित्रकार देशारले सम्मान मात्र ग्रहण गरेनन्, उनले विदेशमा बस्दा पनि युवालाई चित्रकलाको केही विषय बुझाए।

कार्यक्रममा सम्बोधन गर्दै चित्रकार देशारले भने, ‘चित्रकला क्षेत्रमा पुराना पुस्ताका चित्रकारले नयाँ पुस्ताका चित्रकारलाई अगाडि आउने बाटो कमी भएको छ । आफैंले हात समातेर चित्र सिकाएका विद्यार्थीले बाटो खोज्दा बाटो समात्नै लागेपछि हात छोड्ने बानीलाई परिवर्तन गर्नुपर्ने देखिन्छ । नयाँ पुस्ता भनेको नयाँ शैली, नयाँ चिनारी र नयाँ विचारसहितको आयाम हो। त्यसैले गाउँगाउँमा कलाको विकास सँगैसँगै लिएर अगाडि बढाउने पुराना पुस्ताका चित्रकार देशले खोजिरहेको छ। मेरो वर्तमान समयको प्रयास भनेको मैले जीवनको शुरुवातको कलायात्रामा भोगेको असहयोगलाई चिरेर नयाँ पुस्ताको लागि सहयोग बढीभन्दा बढी हुनेछ।’

कार्यक्रमको समापनमा नेपाली टिमले कार्यक्रममा निम्तो दिने चित्रकार तथा रिटायर्ड जनरल हरिसिंह भाटीलाई नाङ्लोमा आफैंले कोरेको चित्र मायाको चिनोका रुपमा दिए । आयोजकलाई नेपाली ढाकाको खादा लगाइदिएर खम्माघनी (राजस्थानी भाषामा हार्दिक नमस्कार) भन्दा सयौंले खम्माघनी फर्काएका थिए । नेपालीले प्राप्त गरेको सत्कार र नेपालीले दिएको सत्कार दुवैको प्रशंसा भयो । कार्यक्रमको समापनसँगै चित्रकलाका केही आयाममा परिष्कार भए ।