आज नयाँ विश्व च्याम्पियन घोषित हुँदै

न्युजिल्यान्ड भर्सेस दक्षिण अफ्रिका


काठमाडौं ।

महिला टी २० विश्वकपको उपाधि जसले जितेपनि यसपटक नयाँ च्याम्पियन हुने पक्का छ । नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा दुबईमा फाइनल खेल हुँदैछ । जुन खेलमा, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच आमनासामना हुनेछ ।

यी दुबै टिमहरुमा न्युजिल्यान्डले दुई पटक र दक्षिण अफ्रिकाले एक पटक फाइनल खेलेका छन् । तर, उपाधि भने उचाल्न सकेनन् । न्युजिल्यान्डले पहिलो संस्करण २००९ मा फाइनल खेलेको थियो । लर्डस्मा भएको सो फाइनल खेल इंग्ल्यान्डले जितेको थियो । यसपछि न्युजिल्यान्ड दोस्रो संस्करणमा पनि फाइनलमा पुगेको थियो । यसपटक भने न्युजिल्यान्डको उपाधि जित्ने लक्ष्यमा अस्ट्रेलिया तगारो बनेको थियो ।

अहिले न्युजिल्यान्ड नवौं संस्करणमा आएर फाइनलको यात्रा तय गर्न सफल भयो । यो तेस्रो पटकको फाइनल हुनेछ । न्युजिल्यान्डले जारी प्रतियोगितामा २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई सेमिफाइनलमा हराएको हो । मात्र ८ रनको रोमाञ्चक जित निकालेर न्युजिल्यान्डले फाइनल सुरक्षित गरेको हो ।

दक्षिण अफ्रिकाको भने यो लगातार दोस्रो फाइनल हो । गत आठौं संस्करण दक्षिण अफ्रिकामा आयोजना भएको थियो । फाइनलमा जित्ने सबैको अनुमान थियो, तर अस्ट्रेलियासामु दक्षिण अफ्रिकाको केही लागेन । यसपटक सेमिफाइनलमा भने गत हारको बदला लिँदैं दक्षिण अफ्रिकाले फाइनलको यात्रा तय गरेको हो ।

दक्षिण अफ्रिकाले अस्ट्रेलियाको यस प्रतियोगितामा लगातार राखेको वर्चश्व समेत तोडेको छ । अस्ट्रेलियाले दोस्रो संस्करणदेखि आठौं संस्करण गरी लगातार सात फाइनल खेलेर वर्चश्व बनाएको थियो । जसमा, २०१६ मा उपविजेता बन्नुबाहेक बाँकी ६ विश्वकप अस्टे«लियाले जितेको थियो । यस पटक राम्रो टिम बनेपनि अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराउन सकेन ।