फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयले गरेको एक शोधमा पत्ता लागेको छ– बच्चा जन्मनुभन्दा अगाडि नै उसको परिवारका सदस्यले कस्तो बोल्छन् भन्ने कुरा उसले सिकेको हुन्छ।
बच्चाले गर्भमै बाहिरको आवाज सुन्ने भए पनि त्यसलाई विश्लेषण गर्न सक्ने क्षमता भने हुँदैन। बच्चा जन्मिएपछि बिस्तारै उसको मस्तिष्क परिपक्व हुँदै जाँदा गर्भमा रहँदा सुनेका आवाज र जन्मिएपछि सुनेका शब्दहरू बोल्न थाल्छ।
राम्रो शब्द होस् वा नराम्रो, गर्भमा हुँदा धेरैपटक सुनिराखेको छ भने उसको मस्तिष्कमा बसिराख्ने हुँदा जन्मिएपछि त्यस्ता शब्द उसले छिटो बोल्न सक्छ। बच्चा जन्मिदा पूर्णरूपमा मानसिक एवं बौद्धिकरूपमा शून्य हुँदैन भन्ने कुरा हेलसिन्की विश्वविद्यालयले गरेको शोधले पुष्टि गरेको छ। यसबाट भन्न सकिन्छ कि बच्चा गर्भमा हुँदा पनि उसलाई पारिवारिक संस्कारको प्रभाव परेको हुन्छ।
हेलसिन्की विश्वविद्यालयकी शोधकर्ता प्रो. हुओटिलाइनेन भन्छिन्, ‘बच्चा पदार्पण हुँदा खाली प्लेटजस्तो हुँदैन, परिवारका सदस्यले कसरी बोल्छन् भन्ने कुरा सो बच्चाले आफू पैदा हुनुभन्दा पहिले नै सिकिसकेको हुन्छ।’
गर्भ रहेको २३ हप्ता भएपछि गर्भको शिशुले आवाजको रेस्पोन्स गर्न थाल्छ, विशेष गरी आमाको आवाजमा। यस अवस्थामा गीत, कविता सुनाउने, स्पर्शको महसुस गराउने गर्दा शिशुको मस्तिष्क विकास हुन मद्दत पुग्छ। यस अध्ययनमा गर्भ रहेको २९ हप्ता पुगेका ३३ महिलाले भाग लिएका थिए। उनीहरूमध्ये आधाजति महिलालाई टाटा शब्दको रेकर्ड बारम्बार सुनाउने गरिएको थियो। जसलाई यो शब्द बारम्बार सुनाइएको थियो, तिनीहरूका बच्चा बोल्ने भएपछि यो शब्द सजिलै र चाँडै बोल्न सकेका थिए।
वासिङ्टन विश्वविद्यालयकी एक स्पीच रिसर्चर पेट्रिसिया कुहलले यस अध्ययनको स्वीकार गर्दै भनेकी छन्, ‘भाषा सिक्ने कुरा जन्मेको पहिलो दिनदेखि मात्र नभएर गर्भमा रहँदा ध्वनि सुनेदेखि नै हो। भ्रूणको मस्तिष्कमा यो क्षमता हुन्छ भन्ने कुरा आश्चर्यजनक नै छ।’
आमाको सोचविचार, घरको वातावरण, परिवारमा बोलिने शब्दहरूले गर्भको शिशुमा गहिरो प्रभाव पर्छ। प्रोफेसर हुओटिलाइनेनले सल्लाह दिएकी छन्, ‘गर्भावस्थाका दौरान आफ्नो पेटभित्रको बच्चासँग समेत गफ गर्ने गर्नुस्।’
महाभारतका एक पात्र अभिमन्युलाई हेरौँ वा एक वैज्ञानिक प्रयोगलाई हेरौँ, बच्चाले गर्भमै धेरै कुरा सिकिसकेको हुन्छ भन्ने कुरा प्रमाणित भएको छ।
अमेरिकामा एक गर्भवती महिलाले गर्भवती हुँदा आफूलाई मन पर्ने गीत सधैँ सुन्ने गर्थिन्। पछि उनको गर्भबाट जन्मिएको बच्चा बोल्न थालेपछि आफ्नी आमाले गाउने गरेको पूरै गीत गाइदियो। यसबारेमा अनुसन्धान हुँदा पो थाहा भयो कि बच्चाले सो गीत आफू गर्भमा हुँदै सुनेको रहेछ।
यता चक्रव्यूह तोड्ने कला अभिमन्युले गर्भमै रहँदा अर्जुनबाट सुनेको कथा छ। तर चक्रव्यूहबाट फर्कने कला सुन्ने बेलामा आमा निदाएकाले अभिमन्युले पनि सुन्न नसकेको कथामा आउँछ। त्यसैले फर्कने कला सिक्न नपाएकाले उनले चक्रव्यूहभित्रै मर्नुपरेको थियो।
यसबाट के बुझ्नुपर्छ भने, गर्भधारणको अवधिमा ठूलो स्वर गरेर बोल्ने, झगडा गर्ने, चर्को स्वरमा म्युजिक बजाउने गरेमा गर्भको बच्चामा नराम्रो प्रभाव पर्ने हुँदा सकेसम्म मधुर वाणी बोल्ने गर्नुपर्छ। चर्को आवाजले शिशुको कानमा असर परी जन्मै कान नसुन्ने नहोला भन्न सकिन्न। गर्भमा रहँदा सुनेका शब्दहरू बच्चा जन्मिएपछि बच्चाले छिटो ग्रहण गर्न सक्छ।











प्रतिक्रिया