नम्रता र गौरव नम्बरी सुनले उत्साहित


काठमाडौं ।

नायिका नम्रता सापकोटा भोलि शुक्रबार रिलिज हुने फिल्म नम्बरी सुनबाट पुनः फिल्ममा देखिँदैछिन्। फिल्ममा उनी सोझी ग्रामीण युवतीको भूमिकामा छिन्।

‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु। ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे। उसको प्रेम आफूभन्दा तल्लो जातको भनिएको व्यक्तिसँग हुन्छ। त्यसपछि जे हुन्छ, दुई नम्बरीको कथा हुन्छ। आफ्ना हरेक फिल्ममा फरक चरित्रमा देखिने नायिका सापकोटाले सुनाइन्, ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । नम्रता अघि थप्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्रमा अभिनय गरेँ। तर, नम्बरी सुनमा शुद्ध इन्टेन्स लभ देखिन्छ। हलमा गएर आनन्दले फिल्म हेर्न चाहने दर्शकका लागि नम्बरी सुन एउटा राम्रो फिल्म बनेको छ। यसमा विशुद्ध नेपाली अर्गानिक कथा छ। हामीले यसका लागि गाडी पनि नपुगेको गाउ“मा गएर एक महिनासम्म सुटिङ गरेका छौँ।’

नम्रता फिल्मका लागि उनको प्रेमी बनेका गौरव पहाडीको कामबाट प्रभावित रहिछन्। ‘गौरव काममा एकदमै गम्भीर छ। फिल्मका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो। मचाहिँ क्यारेक्टरमा बस्नुपरेन। मैले यो फिल्ममा गौरव र विनोद न्यौपानेबाट धेरै कुरा सिकें, उनी भन्छिन्।

अभिनेता गौरव पहारीले नम्बरी सुनमा एकै पात्रमा फरक फरक फ्लेभर दिएका छन्। ‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै गरेको छु। फिल्मपिच्छे फरक चरित्र निभाइरहेको म एउटै फिल्ममा धेरै जनरालाई अंगाल्दा चुनौती पनि धेरै थियो। फिल्ममा मैले तल्लो वर्गको भनिएकाको प्रतिनिधित्व गरेको छु। यो गाउँकै कथा हो। गाउँमा साथीसँग हल्लिएर हिँडेर, बस्ने चरित्र मेरो छ। तर, ऊ गाउँमा कोही कसैलाई केही मद्दत चाहियो भने उसलाई मद्दत गर्छ। तर, त्यसको परिणाम कस्तो आउँछ भन्ने सोच्दैन। परिणामले ऊ खुशी पनि हुन्छ र पछुताउँछ पनि,’ गौरवले आफ्नो चरित्र खुलाउँदै भने, ‘एकै पात्रले फरकफरक चरित्र निभाउँदा पनि मलाई असहज भएन। आज एउटा चरित्र निभाएको हुन्छु। भोलि अर्को चरित्र निभाउनुपर्ने हुन्थ्यो। तर, त्यस्तो अप्ठ्यारो भने भएन। म कट हुनेबित्तिकै त्यो जोनबाट हटिहाल्थें।’

उनले आफ्नो करियरमा नम्बरी सुन सम्झिइरहने फिल्ममा पर्ने दाबी गरे किनभने यसमा एक्सन, प्रेम, कमेडी सबै छ। सायद भोलि गएर अरू फिल्ममा यस्तो गर्न पाउँदिनँ होला।’

पेसाले सुन व्यवसायी कलाकार तथा निर्माता नारायण खाती फिल्म कोहिनूरमा सानो भूमिकामा अभिनय गरेका थिए। तर, यसमा राम्रै रोल गरेका छन्। फिल्ममा नायक गौरव पहाडीको बुबाको भूमिकामा अभिनय गरेका उनले सुन व्यवसायी भएकाले यही पेसालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन नम्बरी सुन निर्माण गरेको बताए।

‘यो वास्तविक कथा हो। यसमा सुनको इतिहास छ। परापूर्वकालमा सुनको काम कसरी अगाडि बढ्यो, कालीगढी काम कसरी बढ्यो भन्ने कुरालाई फिल्ममा देखाएका छौँ,’ उनले भने, ‘फिल्ममा बनावटी केही छैन। सबै वास्तविक कथा हो।’