पार्टीलाई सुधार गर्न खोज्दा उल्टै महामन्त्री ढकाल निष्कासित

1.79k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ। पार्टीको बैठकमा आफ्नो आवाज बन्द गरिएको गुनासो गर्दै आएका ढकाललाई मंगलबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो। सोहीबमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताउनुभयो।

केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिता उल्लंघन भएको ठहर गर्दै सोबाट पार्टीलाई पुगेको क्षतिसमेतलाई विश्लेषण गरेर कारबाही गरेको झाले बताउनुभयो । ढकाललाई केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको उहाँले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पार्टीबाट निष्कासन भएका ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाट मात्रै निष्कासित भएको प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘म रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन ।’

ढकालले गत हप्ता पार्टीको आन्तरिक अवस्था र जनताले हेर्ने नजरलगायत विषयवस्तु समेटेर एक प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो।

उक्त प्रतिवेदन सार्वजनिक गर्न र पार्टीको बैठकसमेत प्रत्यक्ष प्रसारण गर्न माग गरे पनि पार्टी नेतृत्वले सो मागलाई अस्वीकार गरेपछि आफ्नो आवाज बन्द गरिएको संकेतस्वरूप १९ असारको केन्द्रीय समीतिको बैठकमा मुखमा मास्कसहित कालो टेप लगाएर बस्नुभएको थियो । त्यसपछि पार्टीका नेताहरू ढकालप्रति थप आक्रोशित बनेका थिए।

Skip This