काठमाडौं ।
नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार राजधानीमा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नेपाली विभागका प्रा.डा. अशोक थापाले फिल्म साहित्य र नेपाली सन्दर्भ विषयक कार्यपत्र प्रस्तुत गर्दै फिल्म सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्नेमा जोड दिए।
‘फिल्म कलाको आधुनिक माध्यम हो। समाज रुपान्तणरको निम्ति फिल्मको भूमिका महत्वपूर्ण हुन्छ। प्राविधिक पक्षले गर्दा फिल्ममा धेरै कुरा एकै पटक देखाउन सकिन्छ। पछिल्लो समय फिल्म समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ,’ प्राडा थापाको धारणा थियो। कार्यपत्रमाथि आफ्नो धारण राख्दै ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहले सत्य हरिश्चन्द्र नै पहिलो नेपाली फिल्म भएको जिकिर गरे।
‘भारतीय र नेपाली कलाकारले अभिनय गरेको सत्यहरिशचन्द्रमा भारतीय कलाकारको नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविङ गरेजस्तो हुन पुगेको हो,’ शाहले भने,‘साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो। अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृष्टिकोण गलत छ। यसलाई हामीले बदल्न पर्छ। कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ। यो मानवीय समवेदनासँग जोडिएको एउटा पाटो हो। फिल्मको मुटु भनेको पटकथा हो। पटकथा फिल्म साहित्यको मूल अंश हो विश्व बजारका धेरै प्रसिद्ध फिल्मको आधार साहित्य नै हो। नेपाली फिल्मको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेको छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले फिल्मको बहसमा एउटा माहोल सिर्जना गर्ने प्रयत्न गरेको बताए। ‘फिल्म आफैँमा साहित्य हो। फिल्म प्रविधिसहतिको साहित्य हो। फिल्ममा साहित्यका मूल विधाका सबै विधा समेटिएका कारण फिल्म साहित्य फरक पनि छ। फिल्म आफ्नो कथा आफँैमा भन्ने एउटा बलियो आधार बनेको छ। यसको कथा भन्ने शैली फरक छ,’ कुलपति राईको भनाइ थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले कार्यपत्रले फिल्मको इतिहास उजागर गरे पनि फिल्म साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन नसकेको बताए। कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुंगानाले विषय एकातिर कार्यपत्र अर्कोतर्फ गएको जनाइन्।
‘फिल्मको मूल्यांकन प्राविधिक पक्षबाट मात्रै भयो। सैद्धान्तिक पक्षबाट यसको विश्लेषण भएन,’ उनको टिप्पणी थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले फिल्म साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको गरेको बताए। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले फिल्म दृश्य साहित्य हो भन्ने स्थापित गर्न बहस शुरू गरिएको बताए ।











प्रतिक्रिया