काठमाडौं ।
शुक्रबारदेखि परेको अविरल वर्षाले देशभर वितण्डा मच्चाएको छ। देशव्यापी रूपमा परेको अविरल वर्षात्का कारण आधा दर्जन व्यक्तिहरूको ज्यान गएको छ भने करोडौंको क्षति र हजारौं नागरिक प्रभावित भएका छन् ।
शनिबारको भीषण वर्षाले पहाडी भूभागमा पहिरो जानुका साथै काठमाडौंसहित तराईका विभिन्न भाग डुबानमा परेका छन्। बीपी, पासाङ ल्हामु, सिद्धार्थ र मध्यपहाडी राजमार्ग कान्ति लोकपथ, हेटौंडा–काठमाडौं वैकल्पिक सडकलगायत ३ दर्जनभन्दा बढी मुख्य सडकहरू अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
शनिबारमात्रै बाढी र पहिरोका कारण देशभरमा ३६ वटा महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। वागमती गाउँपालिका वडानम्बर ३ मा पहिरो गएको कारण काठमाडौंबाट हेटौंडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै, चन्द्रागिरि वडानम्बर ४ अन्तर्गत रहेको सडकमा पहिरो गएकोले चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैगरी भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी–काठमाडांै सडक अवरुद्ध भएको छ। उता,सिन्धुलीको सुनकोशी गाउँपालिका–२ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। काभ्रेको रोशी गाउँपालिका–८ नर्केमा खोलाबाट लेदो आएर बाटोमा अवरोध सिर्जना भएको कारण बीपी राजमार्ग खण्ड बन्द भएको छ।
यस्तै, मनाङको चामेमा बाढीका कारण चामे–बेंशीसहर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ। म्यादीको रघुगंगामा गएका पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ। वर्षाका कारण रसुवाको स्याफ्रुबेंसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिकामा पहिरोका कारण बेंसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरूद्ध छ।
स्याङ्जाको वालिङ नगरपालिका वडानम्बर १० मा पहिरो खसेकाले सिद्धार्थ राजमार्ग अवरूद्ध छ। तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । दक्षिण कोशी राजमार्ग संखुवासभाको मकालु गाउँपालिका वडानम्बर ३ मा अवरुद्ध छ।
त्यस्तै, बाढीका कारण कोशी राजमार्ग संखुवासभाकै भोटेखोला गाउँपालिका वडानम्बर ४ मा सडक अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ । सिद्धिचरण राजमार्ग उदयपुरको कटारी नगरपालिका वडानम्बर १४ मा सडक अवरूद्ध छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडानम्बर ५ मा पहिरो जाँदा स्याफ्रुबेंसी—थाम्बुचेत सडक खण्ड अवरूद्ध हुन पुगेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरो जाँदा चखेल—देउराली सडक पनि अवरूद्ध भएको छ । त्यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका वडानम्बर २ मा पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध छ भने सिन्धुलीको गोलन्जोर गाउँपालिका वडानम्बर ६ मा पहिरो जाँदा मध्यपहाडी राजमार्गसमेत अवरुद्ध बन्न पुगेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडानम्बर ८ मा पहिरो गएकाले विपी राजमार्ग त्यहाँ पनि अवरुद्ध छ । पाँचखाल नगरपालिका वडानम्बर ८ मा पहिरो जाँदा अरनिको राजमार्ग एकतर्फी बनेको छ ।
कहाँ के कति क्षति
शनिबार रातीसम्म प्राप्त सूचनाअनुसार शनिबारको भीषण वर्षात्का कारण स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । विरुवा गाउँपालिका–६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा–६ माझकोटका ७१ वर्षीय माधव शर्मा, उहाँकी पत्नी ६५ वर्षीया गुह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
त्यस्तै, दाङको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा १८ वर्षका राजकुमार यादव बेपत्ता भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको भान्सा कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज विकको मृत्यु भएको छ । उता दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा एक जना ६४ वर्षीया जाङ्मु शेर्पा बेपत्ता भएका छन् भने तीनवटा घर बगेका छन् ।
दार्चुलाको मार्मा गाउँपालिका वडानम्बर ४ र ५ का १६ घर परिवारका ९२ जनाले बाढीका कारण घर छोडेका छन् । गन्याड नामक खहरे खोलामा आएको बाढी बस्तीमा पस्न लागेपछि घर छोडेर सुरक्षित ठाउँ खोजेर बसिरहेका गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाउँदा विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना प्रभावित बनेका छन्। ओखलढुंगामा पहिरोले दुईवटा टहरासहित आमा छोरी पुरिएका थिए । भोजपुर घर भई सिद्धिचरण नगरपालिका १२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र निजकी छोरी १३ वर्षीया लक्ष्मी विष्टलाई टहरासँगै पहिरोले पुरेको हो । उनीहरूलाई उद्धारपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
उपत्यकाको जनजीवन अस्तव्यस्त
शुक्रबार साँझदेखि अविरल रूपमा परेको वर्षाका कारण उपत्यकाको जनजीवन अस्तव्यस्त भएको छ । लगातारको वर्षाले राजधानी उपत्यका भएर बग्ने नदी तथा खोलामा आएको बाढीले दर्जनौं घर डुबानमा परेका छन् ।
वर्षाका कारण उपत्यकामा एक जनाको मृत्यु भएको छ भने बाढीपहिरो र डुबानमा परेर केही मानिस घाइते भएका छन् । पहिरोमा परी नार्गाजुन नगरपालिका–३ ट्रिपल टि रेस्टुरेन्टमा काम गर्ने गोरखाका मनोज विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रेस्टुरेन्टको भान्साकोठामा सुतेकोमा पहिरोले भान्साकोठा पुर्दा विकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
राजधानीको उपत्यकाका तीनवटै जिल्ला भएर बग्ने नदी तथा खोलामा आएको बाढीका कारण जनजीवन अस्तव्यस्त हुन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संवेदनशील क्षेत्रको अवस्थाका बारेमा जानकारी दिनुका साथै उद्धारका लागि खटिएका छन् ।
लगातारको वर्षाको कारण वागमती, विष्णुमती, मनोहरा, कर्मनासा, इच्छुमति नदी, बल्खुखोला, धोबी खोला, मनमति खोलामा आएको बाढीले दर्जनौं घर डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । मनोहरा खोलामा आएको बाढी सुकुम्बासी बस्तीमा पस्दा ४० घरभन्दा बढी डुबानमा परेका छन् । त्यस्तै, वागमती नदीमा आएको बाढी यूनए पार्क, थापाथली वरपर रहेको सुकुम्बासी बस्तीमा पस्दा सो क्षेत्र अस्तव्यस्त भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको फौजले डुबानमा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । उपत्यका मुख्य तथा सहायक नदीमा आएको बाढीका कारण ती नदीहरूले धार परिवर्तन गरेर कटान शुरू गरेपछि सुरक्षा निकायले कटान रोक्ने काम शुरू गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिका–१० का ल्याबरोटरी स्कुल नजिकै वागमती नदीमा फसेका ३ जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा हटौंडाकी उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेका छन् ।
राजधानीका खोला मिचेर विभिन्न संरचना बनाइएको र अविरल वर्षाका कारण ती नदीहरूमा अत्यधिक मात्रामा पानीको बहाव बढेकाले उक्त पानी बस्तीमा छिरेपछि त्यस्ता बस्तीहरू डुबानमा परेका छन् ।
राजधानी उपत्यकामा पानीको मात्रा अत्यधिक बढेपछि तटीय क्षेत्र वरपर बसोबास गर्दै आएका मानिसलाई सुरक्षित रूपमा अन्यत्र जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। मनोहरा खोलामा आएको बाढी ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा पस्दा उक्त कार्यालय डुबानमा परेको छ। उपत्यकामा हुन सक्ने विपतको क्षतिलाई न्यूनीकरण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५ सयभन्दा बढी फौज परिचालन भएको दुवै संगठनले जानकारी दिएका छन्।
राजधानीमा परेको अविरल वर्षाका कारण सबै नदी तथा खोलानाला बाढीका कारण पानीको चाप अत्यधिक बढेर बस्तीमा छिर्दा जनजीवन अस्त व्यस्त बनेको छ । सबै नदी तथा खोला भरिभराउ हुँदा बाढी बस्तीमा पस्ने डरले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।











प्रतिक्रिया