काठमाडौँ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १७ करोड बढीको मुद्दा दायर गरेको छ ।
बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अपचलन गरेको आरोपमा विभागले सोमबार जिल्ला सरकारी वकिल कार्यालय दाङमार्फत उच्च अदालत तुलसीपुरमा अभियोग पत्र दायर गरेको हो । उनले साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम अपचलन गरेको पाइएको विभागले जनाएको छ ।
यस्तै, बुढाथोकीले रकम अपचलन गर्ने मनसायले बैंकका अन्य कर्मचारीको युजर आईडीसमेत प्रयोग गरेको पाइएको छ । उक्त प्रकरणमा उनीमाथि बैंकिङ कसुर मुद्दामा ७ वर्षको कैद सजाय समेत भइसकेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बुढाथोकीले ३६ वटा कृत्रिम कर्जा खाता खोली उक्त खाताबाट आफैंले सम्पूर्ण कर्जा रकम रकमान्तर गर्ने गरेका थिए ।गैरकानूनी स्रोत लुकाउने मनसायले कर्जा सीमा १७ करोड ९९ लाख ९० हजार रुपैयाँ कायम गरी उक्त रकमलाई आफैंले खोलेका विभिन्न खातामा ट्रान्सफर गरेका थिए ।
उक्त बैंकिङ कसुरबाट उनले बैंकको १८ करोड ३ लाख ७२ हजार रुपैयाँ अपचलन गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।
विभागले उनको नाममा विभिन्न चार बैंकका खातामा रहेको मौज्दात ३५ हजार ९८६ रुपैयाँसमेत जफत गर्न पनि माग गरेको छ ।
बुढाथोकीलाई कुल बिगो अठार करोड तीन लाख बहत्तर हजार आठ सय अठार रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुने विभागले जनाएको छ ।












प्रतिक्रिया