‘नयाँ चुनौतीको सामना गर्न अझै बढी कूटनीतिक दक्षता र निपूर्णता आवश्यक छ’

1.79k
Shares

 काठमाडौं। 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीति नै पहिलो र अन्तिम प्रतिरक्षा माध्यम भएकोले यस क्षेत्रसँग सरोकारवालाहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘ब्रिजिङ जेनेरेसन्स ः ट्रान्सफरिङ नलेज अन बाइल्याटरल एण्ड मल्टिल्याटरल नेगोसिएसन्स्’ विषयक एक दिने गोष्ठीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिक अवस्थाको विश्लेषण गरी विकास साझेदारलगायत विश्व समुदायसँग सम्बन्ध राख्न कुटनीतिक शैलीमा वार्ता गर्ने क्षमतामा अभिवृद्धिका लागि यस्ता गोष्ठीहरु महत्त्वपूर्ण हुने बताए ।

 उनले नेपालको आर्थिक, प्राविधिक एवं सैन्य क्षमताको सन्दर्भ उल्लेख गर्दै देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाको क्षमता अभिवृद्धिमा ठोस प्रयास हुनुपर्ने आवश्यकता पनि औँल्याए । उनले भने– ‘जलवायु परिवर्तन, साइबर र उर्जा सुरक्षा, अन्तर्राष्ट्रिय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता नयाँ र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको छ । भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको छ । नयाँ चुनौतीको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपूर्णता हुनु जरुरी छ ।’

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाश कुमार सुवेदीले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धमा गरिने विभिन्न वार्ता र संवादहरूलाई अझ बढी प्रभावकारी बनाउन कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि यो गोष्ठीको आयोजना गरिएको जानकारी दिए । उनले प्रभावकारी वार्ताका केही सीपहरु कक्षा कोठाबाट प्राप्त नहुने जिकिर गर्दै भने– ‘केही सीपहरु कक्षा कोठाबाट होइन, अनुभवबाट मात्र हासिल हुन्छ । त्यसैले पुराना अनुभवी वार्ताकारहरुले भोगेका परिस्थिति र विषम परिस्थितीलाई पनि आफ्नो पक्षमा पार्न गरेका प्रयासहरुका बारेमा नयाँ पुस्तालाई जानकारी दिनुपर्छ । त्यसैका लागि हामीले यो गोष्ठीको आयोजना गरेका हौं ।’

उनले आगामी दिनहरुमा पनि यस प्रकारको अनुभव आदानप्रदानलाई निरन्तरता दिने जानकारी दिए ।