‘बसे है पालेदाइ’ बोलको गीत विवादमा, गीत नहटाए सामूहिक बहिस्कार गर्ने चेतावनी 


 काठमाडौँ। 

बद्री पंगेनी लोकगायका कलाकारहरुको स्वर रहेको ‘बसे है पालेदाइ’ बोलको गीत विवादमा परेको छ। । शिक्षकहरुको मानमर्दन गर्दै गीतमा भिडियो खिचिएको भन्दै शिक्षकसम्बद्ध संघ–संगठनले आपत्ति जनाएपछि गीत विवादित बनेको हो।

गायक पंगेनीसहित १० जनाको स्वर रहेको ‘बसे है पालेदाइ’ बोलको गीत चार दिनअघि युट्युबमा सार्वजनिक भएको थियो । उक्त गीतको भिडियोमा स्कूललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ संगठनहरुले  प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायतका प्लेटफर्मबाट हटाउन पनि माग गरेका छन्।

विद्यार्थीहरुले स्कुलभित्रै शिक्षकमाथि अनादर गरेका दृश्यले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको शिक्षक संगठनहरुको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूलाई अपमानित हुने गरि राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेका रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट गरेको छ।’ मागलाई बेवास्ता गरे गीतलाई बहिस्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिस्कारसमेत गरिने चेतावनी दिइएको छ।

 

 

Skip This