कंगनादेखि शत्रुघन र हेमा मालिनीसम्मले जिते चुनाव

3.95k
Shares

काठमाडौं ।

भारतमा सम्पन्न लोकसभा निर्वाचनको पाँच सय ४२ सिटमा कला क्षेत्रबाट चुनावी मैदानमा होमिएका १५ सेलिब्रेटीमध्ये ११ जनाले जित हासिल गरेका छन्। भाजपाले उत्तरप्रदेशको मथुराबाट चुनाव टिकट दिएको अभिनेत्री हेमा मालिनीले जित हासिल गरेकी छन्।

उनको प्रतिपक्षमा कांग्रेसले मुकेश धनगरलाई उठाएको थियो। हेमाले पाँच लाख १० हजार ६४ मत पाएर जित हासिल गरिन् भने मुकेश दुई लाख १६ हजार ६ सय ७५ मतमा खुम्चिएका थिए।

भारतीय जनता पार्टीकोतर्फबाट टिकट पाई हिमाञ्चल प्रदेशको मन्डीबाट चुनावमा सहभागी अभिनेत्रीले कंगना रनावतले कंग्रेस नेता विक्रमादित्यलाई ७४ हजार सात सय ५५ मतले हराउँदै शानदार जित हासिल गरेकी छन्। उनले पाँच लाख ३७ हजार २२ मत ल्याएकी थिइन् भने विक्रमादित्यले चार लाख ६२ हजार दुई सय ६७ मत पाएका थिए।

टीएमसीबाट पश्चिम बंगालको आसनसोलमा उम्मेद्वारी दिएका अभिनेता शत्रुघन सिन्हाले नेता एसएस आहलुवालियालाई ५९ हजार पाँच सय ६४ मतले हराउँदै विजय हासिल गरेका छन्।

त्यसैगरी चर्चित टेलिसिरियल रामायणमा रामको भूमिका निर्वाह गरी चर्चा बटुलेका अभिनेता अरुण गोविललाई भाजपाले उत्तर प्रदेशको मेरठबाट उठाएको थियो। अरुणले समाजवादी पार्टीका नेता सुनीता बर्मालाई १० हजार पाँच सय ८५ मतले हराए।

बलिउड अभिनेता तथा पाश्र्व गायक सुरेश गोपीले पनि केरलाको त्रिशूरमा भाजपा पार्टीबाट जित हासिल गरेका छन्। उनले कम्युनिस्ट पार्टीका नेता वीएस सुनील कुमारलाई ७४ हजार ६ सय ८६ मतले हराएका हुन्।

भोजपुरी स्टार मनोज तिवारीले उत्तरपूर्वी दिल्लीको सिटमा भाजपाको तर्फबाट जित हासिल गरेका छन्। कंग्रेस नेता कन्हैया कुमारलाई हराउँदै मनोजले एक लाख ३८ हजार सात सय ७८ मत अन्तरले जित हासिल गरेका हुन्।

अर्का भोजपुरी स्टार रवि किसानले उत्तर प्रदेशको गोरखपुरमा जित हासिल गरेका छन्। भाजपाबाट उम्मद्वारी दिएका उनले समाजवादी पार्टीका नेता काजल निषदलाई एक लाख तीन हजार पाँच सय २६ मतले हराउँदै जित हासिल गरेका हुन्।

अभिनेत्री सायोनी घोष पश्चिम बंगालको जाधवपुरबाट चुनावमा उत्रिएकी थिइन्। उनले भाजपा नेता अनिर्बान गांगुलीलाई दुई लाख ५८ हजार दुई सय १ मतले पराजित गरेकी हुन्।

त्यस्तै, तृणमूल कंग्रेसको सिटबाट पश्चिम बंगालको वीरभूमका लागि उम्मेदवारी दिएकी बंगाली अभिनेत्री शताब्ली रायले भाजपाका नेता देवतनु भट्टाचार्यलाई एक लाख ९७ हजार ६ सय ५० मतले हराएकी छन्।

तृणमूल कंग्रेसबाटै पश्चिम बंगालको हुगलीबाट चुनावमा उठेकी अर्की बंगाली अभिनेत्री रचना बनर्जीले प्रतिद्वन्द्वी लकेट चटर्जीलाई ७६ हजार आठ सय ५३ मतले हराएकी छन्। बंगाली सिनेमा जगतमा देवको नामबाट चर्चित अभिनेता दीपक बनर्जीले पश्चिम बंगालको घाटालबाट चुनाव जितेका छन्।

तृणमूल कंग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका उनले भाजपाका नेता हिरनमोय चटोपाध्यायलाई एक लाख ८२ हजार आठ ६८ मतले हराएका हुन्। चुनावमा अभिनेता राज बब्बर, भोजपुरी अभिनेता पवन सिंह र निरहुवाले भने हार व्यहोर्नु परेको छ।