कान्समा एनोरा अब्बल, प्रियंकाको परिहनको चर्चा



काठमाडौं ।

हालै फ्रान्समा सम्पन्न भएको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करणको चर्चा ताजै छ। विश्व फिल्म र फेसनको उत्सव मानिने कान्समा यस वर्ष अमेरिकी निर्देशक सिन बेकर निर्देशित फिल्म एनोराले शीर्ष पुरस्कार पाम दे ओर जित्न सफल भयो।

नर्तक माइकी म्याडिसन र रुसी धनाढ्यको अश्लील छोरो मार्क आइडेलेस्टेनबीचको अन्तरंग सम्बन्धको कथा भन्ने यो फिल्म कान्समा छनोट भएको बेकरको तेस्रो फिल्म हो। यसभन्दा अघि पनि उनको द फ्लोरिडा प्रोजेक्ट र रेड रकेट कबान्समा छनोट भएको थियो।

सो अवार्ड प्राप्त गरेपछि बेकरले आफ्नो अवार्ड विगत, वर्तमान र भविष्यका यौनकर्मीप्रति समर्पित हुने बताए। त्यस्तै, कान्समा प्रदान गरिने दोस्रो ठूलो अवार्ड ग्रान्ड प्रिक्स अवार्ड भारतीय निर्देशक पायल कपाडियोले प्राप्त गरिन्। उनले अल विल इम्याजिन याज लाइटबाट सो अवार्ड चुमेकी हुन्। उनको फिल्ममा विभिन्न उमेर र वर्गका मुम्बईका तीन महिलाको सम्बन्धको कथा भन्छ।

फिल्म ग्रान्ड टुरबाट मिगुएल गोम्सले निर्देशकका अवार्ड चुम्दा काइन्ड अफ काइन्डनेसबाट जेसी प्लेमन्सले अभिनेताको अवार्ड चुमे भने फिल्म एमेलिया पेरेजले अभिनेत्री र जुरी अवार्डलाई आफ्नो बनायो।

त्यस्तै, कोराली फार्गिटले द सब्सटेन्सबाट पटकथा, फिल्म अरमान्डले क्यामेरा द ओर, मोङग्रेलले क्यामेरा द ओर स्पेशल मेन्शन, द म्यान हु कुल्ड नट रिमेन साइलेन्टले सर्ट फिल्म पाम द ओर, ब्याड फर अ मुमेन्टले सर्ट फिल्म स्पेसल मेन्सन, अर्नेस्ट कोल : लस्ट एन्ड फाउन्ड र द ब्रिकं अफ ड्रिम्सले गोल्डेन आई डकुमेन्ट्री पुरस्कार, थ्री किलोमिटर्स टु द इन्ड अफ द वल्र्डले क्विर पाम र ड्रग अन ट्रायलले पाम द डग अवार्ड चुम्यो। भारतीय अभिनेत्री अनुसुया सेन गुप्ताले अन सर्टेन रिगार्ड विधामा नेपालमा छायांकन भएको फिल्म द सेमलेसबाट पर्फमेन्स अवार्ड चुमिन्।

यसपटक काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्‍यापर बालेन्द्र (बालेन) साह कान्स फिल्म फेस्टिभलमा सहभागी भएका थिए। कान्सका मेयरको निम्तोमा फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेका उनी हलिउड फिल्म मेगालोपोलिसको रेडकार्पेट वर्ल्ड प्रिमियरलगायतका कार्यक्रममा सहभागी भएका थिए।

त्यस्तै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुस्मान देशराज जोशी पनि कान्सको गाला समारोहमा सहभागी भएका थिए। समारोहमा प्रियंकाले लगाएको सेता पहिरनले चर्चा पाएको थियो।

प्रतिक्रिया दिनुहोस्