कुङफुमा रजिन र राजको ह्याट्रिक



काठमाडौं ।

काठमाडौंका रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहोरो स्वर्ण जितेका छन् । उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन् ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपनमा ओखलढुंगाका कुमार बलामी दोश्रो भए। ललितपुरका पेम्बा शेर्पा तेश्रो भए। सर्ट वेपनमा पनि कुमार र पेम्बाले त्यही नतिजा दोहोर्‍याए। बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य हासिल गरेका थिए।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा धादिङका राज थापाले पनि स्वर्णमा ह्याट्रिक गरे। उनले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा गरी ३ स्पर्धामा स्वर्ण जिते । बेयर ह्यान्डमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौंका अमोद बस्नेतले कांस्य प्राप्त गरे।

लङ वेपनमा गोर्खाका सागर दोस्रो तथा काठमाडौंका रिकेश च्यामे तेश्रो बने । सर्ट वेपनमा गोर्खाका सागर दोस्रो र काठमाडौंका अमोद तेस्रो स्थानमा रहे । जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौंकी यौकी गुरुङले शीर्ष स्थान हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्