पुजार सार्की रिलिजअघि नै दर्शकमाझ



काठमाडौं ।

आज बिहीबारबाट रिलिजमा आउने फिल्म पुजार सार्की रिलिजअगावै देखाइएको छ। काठमाडौंका विभिन्न स्थानमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेमा सहभागीबीच फिल्म देखाइएको निर्देशक दिनेश राउतले जानकारी गराए।

मगलबार साँझ काठमाडौंको सीडीसी सिनेमा हलमा गरिएको दर्शक विशेष शोमा सय बढी दर्शक सहभागी थिए। शोमा पुजार सार्कीका कलाकारले दर्शकका साथ फिल्म हेरेका थिए।

दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, पुजार सार्की हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा पुजार सार्कीमा पारेकालगायतको दृष्टिकोण राखिएको थियो।

यसरी रिलिजअगावै दर्शकलाई फिल्म देखाइनुको उद्देश्य फिल्मप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावलाई मनन गरी दर्शकको चाहनाअनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए।

मंगलबारको शोमा फिल्म हेरेका दर्शकले यसलाई अत्यधिक रुचाएको फिल्म युनिटले जनाएको छ। दर्शकबाट फिल्मको विषय, कलाकारको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल र पल शाहको फरक भूमिका तथा निर्देशकीय क्षमताको खुलेर तारिफ भएको छ।

फिल्ममा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकले यसको प्रतीक्षा गरिरहेका छन्। ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निर्वाह गरको फरक भूमिकाको पनि चर्चा भइरहेको छ।

फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतले पनि अभिनय गरेका छन्।

किङडम नेटवर्कको व्यानरमा संगीतकार सुवास भुसालद्वारा निर्मित फिल्ममा विकास सुवेदीको लेखन, हिमाल केसीले द्वन्द्व निर्देशन, राजेश श्रेष्ठको छायांकन निर्देशन, भरत रेग्मीको सम्पादन र सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्