पूजार सार्कीको ट्रेलर जोशसँगै कौतूहलता



काठमाडौं ।

तीन स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई एकै पर्दामा उतारिएको सामाजिक फिल्म पूजार सार्कीको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

चार मिनेट २१ सेकेन्डको ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरको कथा प्रस्तुत गरिएको छ।

आगामी जेठ १० गते नेपालसँगै नेपालीहरूको बसोबास रहेका विभिन्न देशमा एकसाथ रिलिज हुने फिल्मको ट्रेलरले शास्त्र पढे बाहुन भइन्छ?, व्यवस्था बदलिएर जातीय छुवाछूत हटेको हो जस्ता सामाजिक सवाल उठान गरेको छ।

४० वर्षअघिको राजनीतिक पृष्ठभूमिको कथा केही कम्युनिस्ट र क्रान्तिकारी जातीय विभेदविरुद्ध आफ्नो जात झार्नसमेत तयार भएको कालखण्डमा पुर्‍याउँछ। ट्रेलरमा आर्यन सिग्देल पूजारका रूपमा देखिएका छन् भने प्रदीप खड्का दलित युवक र पल शाह प्रगतिशील विचारको क्रान्तिकारी भूमिकामा देखिएका छन्। त्यस्तै, अञ्जना बराइली दलित युवती र परीक्षा लिम्बू उपल्लो जात भनिएको भूमिकामा देखिएका छन्।

अन्तरजातीय सम्बन्धको जटिलतामा केन्द्रित ट्रेलरमा एक युवक दलित युवतीलाई पाउन आफ्ना जातबाट झर्नसमेत तयार हुन्छ। ‘ब्राह्मण जात होइन, व्यवहार हो। शास्त्र पढे बाहुन भइन्छ’ ट्रेलरमा प्रस्तुत कथाभित्रको कथामा अर्कातिर एक दलित युवक उपल्लो जात भनिएकी युवतीलाई पाउन शास्त्र पढेर बाहुन हुने प्रयास गर्छ। अर्कातिर क्रान्तिकारी युवक तल्लो र माथिल्लो भनिएका जातका युवतीलाई आफ्नो अधिकार प्रयोग गरेर आफ्नो चाहनाअनुसार विवाह गर्न उत्प्रेरित गर्छ। यसमै गाउँले र ती पात्रको लडाइँ चल्छ। यसरी ट्रेलरले जोशसँगै कौतूहलता प्रदान गर्दछ।

मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्य, तारा शर्मा, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारले अभिनय गरेको फिल्म दिनेश राउतले निर्देशन गरेका छन्। प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशजस्ता सफल फिल्मका निर्देशक राउतको यो फिल्म विकास सुवेदीले लेखेका छन्।

किङडम नेटवर्कको ब्यानरमा संगीतकार सुवास भुसालले निर्माण गरेको फिल्ममा सुवासकै संगीत, हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देवेन्द्र बराल र मुना थटालको स्वर, हिमाल केसीले द्वन्द्व निर्देशन, राजेश श्रेष्ठको छायांकन निर्देशन र भरत रेग्मीको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्