सतीदेवी साउनमा



काठमाडौं ।

नारीप्रधान कथामा तयार पारिएको फिल्म सतीदेवी आगामी साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीबीचको मिहीन स्नेह, सम्बन्धको आरोहअवरोह तथा समाजको सतही कुसोचको प्रक्षेपण फिल्मले गर्ने लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए।

फिल्मले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको जनाइएको छ। मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बू, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको फिल्म दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदीले निर्माण गरेका हुन्।

निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद, दीपक शर्मा र सुवास भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको फिल्म काठमाडौं, लमजुङ र तनहुँ कास्कीका विभिन्न स्थानमा छायांकन गरिएको छ।

हालै सम्पन्न नेपाल ग्रामीण फिल्म महोत्सवमा सर्वोत्कृष्ट पटकथा, फिल्म र अभिनेत्रीको अवार्ड पाएको थियो भने सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा शिव रेग्मीले सर्वोत्कृष्ट निर्देशक र फिल्मको अवार्ड पाएका थिए।

प्रतिक्रिया दिनुहोस्