पूजार सार्कीप्रति दलित आयोगको चासो



काठमाडौं ।

जातीय विभेदविरुद्धको साझा संघर्षको कथामा बनेको फिल्म पूजार सार्कीप्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ।आयोगका अध्यक्षदेखि सदस्यसम्मले ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मको टिमसँग भेट गरी फिल्मबारे चासो व्यक्त गरेका हुन्।

फिल्मका लेखक सुवेदीले आयोगलाई फिल्मको कथावस्तुबारे जानकारी दिँदै पूजार सार्की आफूले देखेको घटनामा आधारित भएर बनाएको खुलाए।

‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा फिल्म लेखेको हुँ। फिल्ममा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेले मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ। यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो,’ सुवेदीले भने।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको सुनाइन्। फिल्मको कथा सुनेपछि काम गर्न उत्साहित भएको जनाउँदै उनले काम गर्ने क्रममा धेरै कुरा सिक्न पाएको बताइन्।

अर्की अभिनेत्री परीक्षा लिम्बूलाई सुरुमा यस्तो कथामा अझै पनि चलचित्र बनाउन जरुरी छ र भन्ने लागेको, तर कथा सुन्दा र छायांकनस्थलको परिस्थितिले आवश्यक तुल्याएको बताइन्।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले पूजार सार्की निर्माण भएकोमा खुसी व्यक्त गर्दै आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ। यो कुराको अन्त्यका लागि फिल्म बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ। र, आयोगले फिल्मलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ अध्यक्ष विश्वकर्माले भने।

आयोगका सदस्यहरू मिनादेवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि फिल्मले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।

दिनेश राउतको निर्देशनमा बनेको फिल्म आगामी जेठ १० गते रिलिजमा आउँदैछ। फिल्ममा तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्