वरिष्ठ पत्रकार काफ्लेको उपन्यास ‘पुंसवन’ विमोचन



काठमाडौँ।

वरिष्ठ पत्रकार तथा साहित्यकार कपिल काफ्लेद्वारा लिखित उपन्यास ‘पुंसवन’को  विमोचन गरिएको छ। आइतबार राजधानीमा आयोजित  एक कार्यक्रमकाबीच उक्त पुस्तक  विमोचन गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रसंघीय सिड समितिका उपाध्यक्ष वन्दना राणा, प्राडा कृष्ण गौतम, पूर्व सांसद तथा लेखक देवशंकर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा लेखक स्वयम्ले सामूहिक विमोचन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री  शर्माले  पूर्वीयदर्शन अध्ययनका लागि  विश्वोका अध्यताहरु नेपाल आउने गरी एक केन्द्रको स्थापना गर्नु आवश्यक भएको बेला  पत्रकार कपिल काफ्ले लेख्नु भएको  ‘पुंसवन’ उपन्यास उपयोगी हुने  बताइन् । उनले  वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताइन् ।

कार्यक्रममा प्राडा कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीय दर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्त्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिए ।

पूर्व संसद एवं समीक्षक देवशंकर  पौडेलले सति प्रथा, कमाराकमारी प्रथा,जार काट्ने प्रथा ,छुवाछुत प्रथा हिन्दुधर्मका चार प्रथा हुन् यसलाई छोडेर कुरा गर्नेहो भने मानव सभ्यता निर्माण पूर्वीय दर्शनको  उच्च निर्माण गर्नुपर्छ भने। उनले उपन्यास पूर्वीय दर्शन र आधुनिक विज्ञानको फ्युजन भएकाले  नेपाली आख्यान विधामा नयाँ उपलब्धि साबित हुने  विश्वास व्यक्त गरे।

कार्यक्रममा पुंसवनका प्रकाशक मदर ल्यान्ड नेपालका अध्यक्ष  अनिल पाण्डेले लैङ्गिक समानताको अभियानमा योगदान पुर्‍याउन पत्रकारका लागि पुरस्कारको स्थापना समेत गरेको स्मरण गर्दै   पुंसवनले पनि महिला अधिकारका पक्षमा योगदान दिने ठानेर प्रकाशनको  जिम्मा लिएको बताए।

नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहेका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्