नेपाल–भारत साहित्यिक सम्बन्ध प्रगाढ बनाउँदै जनमत, दार्जिलिङ विशेषाङ्क प्रकाशन गर्ने घोषणा


दार्जिलिङ।

नेपाली भाषा, साहित्य, संस्कृति र सिर्जनात्मक सम्बन्धलाई नेपाल र भारतबीच थप प्रगाढ बनाउने उद्देश्यसहित जनमत वाङ्मय प्रतिष्ठान नेपालको साहित्यिक टोलीले दार्जिलिङमा साहित्यिक भेटघाट, अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। साहित्यिक यात्राका क्रममा दार्जिलिङका वरिष्ठ साहित्यकार, लेखक तथा साहित्यिक संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै प्रतिष्ठानले दार्जिलिङ विशेषाङ्क प्रकाशन गर्ने घोषणा गरेको छ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको नेतृत्वमा पुगेको टोलीलाई दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनले आत्मीय स्वागत तथा अभिनन्दन गरेको थियो। कार्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा योगदान पु¥याउँदै आएका दुवै क्षेत्रका साहित्यकार तथा स्रष्टाहरूबीच सिर्जना, प्रकाशन, साहित्यिक संस्था र आपसी सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो।

स्वागत मन्तव्यका क्रममा नेपाली साहित्य सम्मेलनका प्रतिनिधिहरूले सम्मेलनको ऐतिहासिक पृष्ठभूमि र नेपाली भाषा साहित्यको संरक्षणमा संस्थाले पु¥याउँदै आएको योगदानबारे चर्चा गरेका थिए। सम्मेलनका वरिष्ठ साहित्यकार, पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको परिचय गराउँदै नेपालबाट आएको साहित्यिक टोलीसँगको सम्बन्धलाई पुरानो साहित्यिक मित्रताको निरन्तरताका रूपमा व्याख्या गरिएको थियो।

सो अवसरमा सन् २००९ मा जनमत प्रकाशनको निमन्त्रणामा नेपाली साहित्य सम्मेलनका प्रतिनिधिहरू बनेपास्थित जनमत प्रकाशनको कार्यालयमा पुगेको पुरानो साहित्यिक भेटघाटको स्मरणसमेत गरिएको थियो। त्यसबेला साहित्यकारहरूले कथा तथा रचना वाचन गर्दै अनुभव साटासाट गरेको स्मरण गर्दै अहिलेको भेटघाटले पुरानो सम्बन्धलाई पुनः जीवन्त बनाएको वक्ताहरूले बताएका थिए।

कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालले जनमतको साहित्यिक अभियानबारे प्रकाश पार्दै साहित्यलाई कुनै राजनीतिक विचार, क्षेत्रीयता वा आग्रह–पूर्वाग्रहभन्दा माथि राखेर मानव संवेदना र सिर्जनाको साझा माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले जनमत मासिक, पुस्तक प्रकाशन, साहित्यकार सम्मान, पुरस्कार स्थापना तथा पुस्तकालय निर्माणका माध्यमबाट नेपाली भाषा र साहित्यको सेवामा प्रतिष्ठान निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो। आर्थिक कठिनाइका बाबजुद पनि जनमत मासिकलाई नेपालका विभिन्न जिल्लासम्म पु¥याउने प्रयास भइरहेको र हालसम्म एक सय ६५ भन्दा बढी पुस्तकहरु प्रकाशन गरिएको उहाँले बताउनुभयो।

जनमतले साहित्यिक योगदानको कदर गर्दै विभिन्न विधा, भाषा, महिला स्रष्टा, साहित्यिक पत्रकार तथा सिर्जनकर्मीलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले १८ वटा साहित्यिक पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको जानकारी दिनुभयो। साहित्यिक पत्रिका र पुराना प्रकाशनको संरक्षणका साथै करिब १८ हजार पुस्तक संकलन गरिएको पुस्तकालय निर्माणलाई पनि प्रतिष्ठानको महत्वपूर्ण अभियानका रूपमा प्रस्तुत गर्नुभयो।

साहित्यिक संस्थाहरूबीचको सहकार्यलाई अझ विस्तार गर्ने क्रममा दार्जिलिङ र कालिम्पोङ क्षेत्रका साहित्यकारका कविता, कथा, निबन्ध तथा अन्य सिर्जना संकलन गरी जनमतको विशेषाङ्क प्रकाशन गर्ने घोषणा उहाँले गर्नुभयो। यसका लागि स्थानीय साहित्यकार तथा नेपाली साहित्य सम्मेलनका प्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरिने उहाँको भनाइ थियो।

नेपाल र भारतका लेखक तथा साहित्यकारका सिर्जनालाई एउटै साहित्यिक मञ्चमा समेट्ने उद्देश्यले विशेषाङ्क प्रकाशन गर्न लागिएको बताउँदै उहाँले दार्जिलिङका साहित्यकारलाई आफ्ना रचना उपलब्ध गराउन आग्रह गर्नुभयो। साहित्यिक सम्बन्धलाई भेटघाट र सम्मानमा मात्र सीमित नराखी नियमित प्रकाशन, सिर्जना आदानप्रदान र सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा विभिन्न साहित्यिक संस्थामा आबद्ध व्यक्तित्वहरूको योगदानको चर्चा गरिएको थियो। नेपाली साहित्य सम्मेलन दार्जलिङका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.जीवन नामदुङले नेपाली टोलीलाई स्वागत गर्दै आगामी दिनमा साहित्यिक सहयात्रालाई निरन्तरता दिने बिषयमा जोड दिनुभयो । सोही अवसरमा साहित्यकारहरु प्रेम प्रधान, सूर्य श्रेष्ठ, डा. चन्द्रकुमार राई, धनाङ्क सुब्बा, डा. गीता क्षेत्री, जोगेन दर्नाल लगायतका व्यक्तित्वहरूको साहित्यिक तथा संस्थागत योगदानलाई स्मरण गरिएको थियो। ९१ वर्षको उमेरमा समेत साहित्य लेखनमा सक्रिय रहनुभएका वरिष्ठ साहित्यकार धनहाङ सुब्बाको सिर्जनाप्रतिको निरन्तर समर्पणलाई विशेष रूपमा उल्लेख गरिएको थियो।

त्यसैगरी नेपालबाट सहभागी पत्रकार, साहित्यकार तथा कलाकारहरूको परिचय गराउँदै नेपाल समाचारपत्र दैनिकका सह सम्पादक तथा साढे तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय भगवती तिमल्सिना, जनमत वाङमय प्रतिष्ठानका कोषाध्यक्ष भारती श्रेष्ठ, जनमत मासिकका सह सम्पादक रामसुन्दर देउजा, प्रतिष्ठानका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, जनमत बाटिकाका संयोजक तथा वाङमयका सदस्य राजु सरकारलगायतले साहित्यिक, पत्रकारितासम्बन्धी तथा सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यिक सम्मान र सिर्जनाको कदरले नेपाल र भारतका नेपालीभाषी समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो। साहित्य कुनै भौगोलिक सीमामा सीमित नहुने भएकाले दार्जिलिङ, सिक्किम, कालिम्पोङ र नेपालका स्रष्टाबीच नियमित साहित्यिक सम्पर्क र प्रकाशनको आदानप्रदान आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

जनमत वाङ्मय प्रतिष्ठानको यो साहित्यिक यात्राले पुराना साहित्यिक सम्बन्धलाई पुनः जोड्दै नयाँ पुस्ताका स्रष्टाबीच सहकार्यको आधार निर्माण गरेको छ। दार्जिलिङ विशेषाङ्क प्रकाशन गर्ने घोषणाले नेपाल र भारतका नेपालीभाषी साहित्यकारका सिर्जनालाई एउटै प्रकाशनमा समेट्ने नयाँ अवसर सिर्जना गरेको छ। कार्यक्रममा डा.गिता क्षेत्रीले दार्जलिङ अंक प्रकाशन स्वागत योग्य रहेको कुरा बताउनुभयो । सोही अवसरमा जनमतका तर्फबाट वाङमयका सदस्य राजु सरकारले धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली साहित्यिक यात्राको टोली र दार्जलिङको साहित्यिक टोली छिट्टै नेपालमा भेट गर्ने प्रतिवद्धता पनि गरियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।