‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं ।

नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे जानकारी गराएका थिए।

यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ। साथै सङ्गीत, कला, साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रका विज्ञ व्यक्तित्वहरूलाई समेत निर्णायक मण्डलमा समेटिएको आनले जनाएको छ।

आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्।

अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आन कार्यसमितिलाई निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग राखिएको संघले स्पष्ट पारेको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि संघले जनाएको छ।

यस वर्षको कृति अवार्ड्समा रेड बुल मुख्य प्रायोजक रहेको छ। त्यस्तै, डिजिटल प्लेटफर्म इनमार्कको इन एसोसिएसन विथ प्रायोजन तथा जीएमडब्लू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ।

अवार्डसम्बन्धी थप जानकारीका लागि नेपाल विज्ञापन संघको सचिवालयमा ०१-४७५०६३ मा सम्पर्क गर्न सकिने संघका महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।