रविनले अमेरिकामा चुमे २ अवार्ड



काठमाडौं ।

अमेरिकामा सम्पन्न १३औं क्वीन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपालका फिल्मकर्मी रविन आचार्यले दुई विधाको अवार्ड चुमेका छन्। आचार्यले फिल्म रोटन ब्लडबाट छायांकनमा स्पेसल मेन्सन र मनुबाट फाउन्डर च्वाइस अवार्ड चुमेका हुन्।

छायांकन विधामा मार्सेल लोबेनविनको कोडा, लिओ काल्जोनीको सिएला, स्कट टी समर्सको मिरान्डा अफ माइन्ड र विलियम मुरेको द डार्क फरेस्टसँगै उनी पनि प्रतिस्पर्धामा थिए। आचार्यले फिल्म डाइङ क्याण्डलले सन् २०१६ को क्विन्स वल्र्ड फिल्म फेस्टिभल तथा नेपालमा आयोजित कामना फिल्म अवार्डस्मा छायांकन विधाको अवार्ड चुमेका थिए।

डाइङ क्याण्डल फिल्मको विधामा अध्यापन गराउने विश्वकै उत्कृष्ट मानिएको अमेरिकाको विश्वविद्यालय युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टसमा विशेष प्रदर्शन समेत गरिएको थियो।

नेपाली रजतपटमा निर्माता तथा छायाँकारको रूपमा सक्रिय आचार्यले कलात्मक फिल्मले मात्र समाजको यथार्थ उजागर गर्न सक्छ भनेर आफ्नै कम्पनी नेसनल मिडिया प्रोडक्सन प्रालिको ब्यानरमा डाइङ क्यान्डलको निर्माणसँगै छायांकन गरेको थिए।

उनी डी सिने डायस्पोरा अवार्ड–२०१६, फान फिल्म अवार्ड–२०१७, इनास फिल्म अवार्ड– २०१७, एनएफडिसी नेसनल फिल्म अवार्ड–२०१७, सिंगापुर साउथ एसियन इन्टनेशनल फिल्म फेस्टिभल–२०१८ बाट समेत पुरस्कृत भइसकेका छन्।

झण्डै दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय हेटौंडा– ९, मकवानपुरका रविन एक कुशल प्राविधिकका रूपमा स्थापित छन्।

प्रतिक्रिया दिनुहोस्