मन जित्ने आशमा मनसरा

126
Shares

काठमाडौं ।

फिल्म निर्देशक उपेन्द्र सुब्बाले आगामी २१ गते रिलिज हुने आफ्नो पछिल्लो फिल्म मनसरालाई दर्शकसँग बहानाबाजी गर्ने वा माफी माग्ने छुट आफूलाई नभएको बताएका छन्।

अघिल्लो वर्ष नेपाली फिल्मकै क्षेत्रमा सर्वाधिक बढी कमाइ गर्ने फिल्म जारी दिएका निर्देशक सुब्बाले मनसारालाई लिएर हालै ललितपुरमा आयोजित पत्रकार भेटघाटमा आफ्नो डेब्यु निर्देशनको फिल्म जारीबाट जिम्मेवारीबोध सिकेको बताए।

‘मसँग रेला गर्ने उमेर छैन। गल्ती गरेर माफी माग्ने बेला पनि छैन। बहानाबाजी गर्ने र एक्सक्युज गर्ने छुट पनि छैन। त्यसैले म एक्सक्युज पनि माग्दिनँ। मनसरामा केही नयाँ गर्ने कोसिस गरेको छु,’ सुब्बाले सुनाए।

लेखनको क्षेत्रबाट समेत हिट फिल्म दिँदै आएका निर्देशक सुब्बाले आफ्नो निर्देशनको दोस्रो फिल्म मनसरा धानको प्रजाति मनसरालाई विम्ब बनाएर बनाएको खुलाए। ‘मैले धानलाई मात्र होइन, बाली विज्ञानमा आधारित कथा भन्ने प्रयास गरेको छु। मनसरामात्रै ब्याड राखेर फल्दैन, यसकारण अरूसँग रोपिन्छ। यो धानलाई मिहिनेतीले रुचाउँछन्। हामीलाई त छिटो पच्ने नरम चिज चाहिन्छ सहरमा,’ उनले भने।

अभिनेता दयाहाङ राईले मनसरामा आफूले निर्वाह गरेको पात्रबाट आफैं लोभिएको बताए। ‘मनसरामा मैले निर्वाह गरेको पात्रमा मैले काम नगरेर हेर्न पाए हुन्थ्योजस्तो लाग्यो। यो मेरा लागि नै डाह लाग्ने क्यारेक्टर हो,’ दयाहाङले भने, ‘जारीमा लिम्बुवान, लिम्बू संस्कृति र दर्शनको युनिभर्स थियो। मनसरा त्यही युनिभर्सकै एकपात्र हो। जारीको नामसाङ र मनसराको एक्टरको मनोविज्ञान फरक छ।’

निर्माता तथा छायांकन निर्देशक शैलेन्द्रध्वज कार्कीले दयाहाङसँग १७ फिल्ममा काम गरेको अनुभव सुनाउँदै मनसराको क्लाइमेक्स खिच्दा दयाहाङ नर्भस देखिएको खुलाए।

अभिनेत्री मिरुना मगरले मनसराबाट आफूले आफैँलाई अन्वेषण गर्ने अवसर मिलेको बताइन्। ‘वास्तविक जीवनमा म आमा नभए पनि मनसराले आमा बनाइदिएको फिल भयो। मैले कसैलाई जन्म नदिए पनि आमाले फिल गर्ने कुरा सुटिङमा फिल भयो’ मिरुनाको भनाइ थियो।

फिल्ममा एकल महिलाको रूपमा अभिनय गरेकी मिरुनाले भनिन्, ‘सामान्यरूपमा एकल महिला कमजोर हुन्छिन्, उनलाई साथ चाहिन्छ, दुःख पाइरहेको हुन्छ। हाँस्दै हाँस्दैनन्, दुःखी हुन्छन् भन्ने देखिएकोमा, मनसरामा चाहिँ ऊ छिमेकीलाई पनि जिस्काउँछे, काम पनि गर्छे। एउटा महिला कत्तिको बलियो हुनसक्छिन् भन्ने मैले यो फिल्मको क्यारेक्टरमा महसुस गरेँ।’ उनले मनसराले मिश्रित समाजको कथा बोल्ने पनि खुलाइन्।

‘मनसरा नेपाली समाजको रियल कथामा आधारित छ। जारीमा दर्शकबाट पाएको मायास्वरूप मनसराको मेरो भूमिकालाई पनि दर्शकले रुचाउनेमा आशावादी छु,’ उनले भनिन्।

अभिनेता प्रवीण खतिवडाले मनसरा सोसल ड्रामा भएको र यसबाट आफू पूर्णरूपमा आशावादी रहेको बताए। ‘मनसराबाट म पूर्णरूपमा आशावादी छु। निर्देशक उपेन्द्र सुब्बाले मिश्रित समाजको कथा सुनाउनुभयो, मन पर्‍यो,’ खतिवडाले भने। श्रमिक, परिवारबाट बिछोडिएका मानिसको कथालाई मनसरामा प्रस्तुत गरिएको उनको भनाइ थियो।

कबड्डी फिल्म्स् प्रडक्सनको ब्यानरमा शैलेन्द्रध्वज कार्कीद्वार निर्मित फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, शान्ति गिरी, हेमन्त बुढाथोकी, नेनाहाङ राई, विप्लप प्रतीक, जीवन बराल, सुवासचन्द्र पोखरेल, अनील सुब्बा, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मणविक्रम बस्नेतलगायत कलाकारले अभिनय गरेका छन्।

झुम्बा लिम्बू, सुसन गौतम र फोसेलको संगीत, मनहाङ लावती, मणिक शंकर, सयोक मुकारुङ, शुभम चाम्लिङ राई र मधु केरुङको कला निर्देशन, अष्टमान महर्जनको द्वन्द्व निर्देशन, शैलेन्द्रध्वज कार्कीको छायांकन निर्देशना र नेमिष गौतमको सम्पादन रहेको फिल्ममा परसु अधिकारी, विष्णुकुमार थेवे र जीवन लिम्बू थाक्लुङ सहनिर्माता तथा सिजन कार्यकारी निर्माता रहेका छन्।