बलिउडमा लिभिङ टुगेदर बहस



काठमाडौं ।

बलिउड नगरी हाल लिभिङ टुगेदरको पक्ष र विपक्षमा उभिएको छ। केही दिनअघि बलिउड अभिनेत्री जिनत अमानले सामाजिक सञ्जाल इन्स्टाग्राममा युवा पुस्तालाई विवाहअघि लिभिङ टुगेदरमा बस्न सल्लाह दिँदै एक पोस्ट साझा गरेकी थिइन्। उनले विवाहअघि युवायुवती लिभङ टुगेदरमा बसे एक अर्कालाई बुझ्न सजिलो हुने सल्लाह दिएकी थिइन्।

‘यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने विवाहअघि लिभिङ टुगेदरमा बस्न एकदमै सल्लाह दिन्छु। मेरो छोरालाई पनि म यो सल्लाह दिइरहन्छु, जो दुवैजना लिभिङ टुगेदरमा थिए र छन्। पारिवारिक सम्बन्धमा जोडिनुअघि उनीहरूले सम्बन्धबारे परीक्षण गर्न पाउनुपर्छ,’ जिनतले उल्लेख गरेकी थिइन्।

हाल पनि भारतीय समाजमा लिभिङ टुगेदर संकोचको विषय रहेको भन्दै उनले समाजको अपेक्षाभन्दा अघि व्यक्तिगत अनुकुलतालाई प्राथमितामा राख्न सल्लाह दिएकी थिइन्। उनको यो पोस्टले बलिउडमा बहसको रूप लिएको छ भने कलाकर्मी लिभिङ टुगेदरको पक्ष र विपक्षमा बाँडिएका छन्।

अभिनेता मुकेश खन्नाले विवाहअघि केटा र केटी सँगै बस्नु भारतीय संस्कृति नभएको र जीनतले सुरुवातदेखि नै पश्चिमी सभ्यताअनुसार जिन्दगी जिएका कारण भारतीय संस्कृतिलाई बुझेर भारतमा लिभङ रिलेसनसिप स्वीकार नहुने बुझ्न आवश्यक रहेको प्रतिक्रिया जनाए।

त्यस्तै अभिनेत्री सैरा बानुले उनको भनाइमा असन्तुष्टि जनाउँदै अमानको दाम्पत्य जीवन पनि असफल रहेकाले उनैले अरूको सम्बन्धबारे सल्लाह दिन उचित नहुने प्रतिक्रिया दिएकी छन्।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले भारतीयहरू परम्परागत सोचका मानिस भएकाले जिनतको भनाइमा सहमत हुन नसक्ने बताएकी हुन्। त्यस्तै, मुमताज, सायरा बानोजस्ता अभिनेत्रीले पनि जीनतको कुरामा असहमति जनाएका छन्।

अभिनेत्री सोनी राजदानले भने जिनतको भनाइमा सहमति जनाएकी छन्। उनले मुकेश खन्नालाई जवाफ दिँदै कुनै पनि जोडी लिभङ टुगेदरमा रहनु खराब नभएको तर्क दिएकी छन्। त्यस्तै, केही कलाकारले जिनतको कुरामा सहमति जनाएका छन् भने धेरैले उनको भनाइमा असहमति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्