महालक्ष्मी ९ लामाटारका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी



काठमाडौं ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ९ वडा कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एक सय जना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रम अन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ।

यही वैशाख १४ र १५ गते दुई दिने धार्मिक तीर्थाटनको लागि वडाले सो वडाका उक्त उमेर समूहका ज्येष्ठ नागरिकको नाम सङ्कलन गरी तीर्थाटनको तयारी गरिरहेको हाे।

वडाको आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनियोजन गरिएको बजेटबाट ज्येष्ठ नागरिकहरूलाई धार्मिक तीर्थाटनमा सहभागी गराउन लागिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए।

ज्येष्ठ नागरिकहरूलाई धार्मिक तीर्थाटनको लागि उनीहरूको माग बमोजिम चितवनको देवघाट धामलगायतका धार्मिक स्थलको भ्रमण गराइने वडाध्यक्ष बोगटीले बताए। ७५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई भने उनीहरूको स्वास्थ्य र उमेरका कारण हिँडडुल गर्न अलि समस्या पर्ने भएकोले यो कार्यक्रममा सहभागी नगराइने वडाध्यक्ष बोगटीले बताए ।

सो वडा कार्यालयले गत पुस १५ गते सो वडाका ७५ वर्ष नाघेका २३० जना ज्येष्ठ नागरिकलाई न्यानो ओढ्ने र बुढेसकालको सहारा लौरो दिएर सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्