पुजार सार्कीको दर्शन गरेँ



काठमाडौं ।

आगामी जेठ १० गते नेपालसहित नेपालीको बसोबास रहेको विश्वका विभिन्न देशबाट एकसाथ रिलिजमा आउने फिल्म पुजार सार्कीको गीत दर्शन गरेँ सार्वजनिक गरिएको छ।

युट्युबमार्फत सार्वजनिक गीत मगर जातिको परम्पराअनुसारको लोकप्रिय कौडा नृत्यमा आधारित छ। गीतमा तीन सुपरस्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन्। कास्कीको धम्पुसमा छायांकन गरिएको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखरे तयार पारिएको छ। हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको गीतको भिडियो शिशिर खातीले कोरियोग्राफी गरेका छन्।

फिल्मममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारले पनि अभिनय गरेका छन्। फिल्म दिनेश राउतले निर्देशन गरेका छन्। निर्देशक राउतले फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने प्रयास रहेको जनाएका छन्। प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशलगायत हिट फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्।

किङडम नेटवर्कको ब्यानरमा संगीतकार सुवास भुसालद्वारा निर्मित फिल्ममा लेखन विकास सुवेदी, संगीत सुवास भुसाल शब्द रचना, हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाही, स्वर प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देबे्रन्द बराल र मुना थटाल, द्वन्द्व निर्देशन हिमाल केसी, छायांकन निर्देशक राजेश श्रेष्ठ र सम्पादन भरत रेग्मीको छ।

प्रतिक्रिया दिनुहोस्