महिलाको नेतृत्वमा एक मुठ्ठी बादल



काठमाडौं ।

बहुसंख्यक महिलाको संलग्नता रहेको फिल्म एक मुठ्ठी बादलको सुटिङ सकिएको छ। फिल्ममा महिला लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा पहिलोपटक महिलाले फिल्म निर्माणका विभिन्न विभागमा प्रमुखको भूमिका निर्वाह गरेका छन्। पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्मको सुटिङ २२ दिनमा सकिएको हो।

डक्सकुल र प्लान इन्टरनेसनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीभित्रको महत्वपूर्ण लैंगिक असमानतालाई प्रकाश पारेको थियो।

अध्ययनको निष्कर्षअनुसार नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। यसैलाई मध्यनजर गर्दै निर्माण टिमले महिला प्रमुख, रचनात्मक र प्राविधिक भूमिकामा फस्टाउनसक्ने वातावरण निर्माणका लागि मुख्य विधामा महिलाको भूमिका चयन गरेको हो।

फिल्ममा छायांकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन्। भियतनामकी ड्यानको यो तेस्रो फिचर फिल्म हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर फिल्म हो।

यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन्। चलचित्रमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् भने पोसाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।

निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका फिल्म अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुक्तरूपमा निर्माण गरेका हुन्। गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकार नै मुख्य भूमिकामा छन्।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाईं, मनीष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्। निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्