टिजरमा खजुरे ब्रो



काठमाडौं ।

कमेडी जनरामा निर्माणाधीन फिल्म खजुरे ब्रोको टिजर हालै सार्वजनिक गरिएको छ। सुरज सुनुवारद्वारा निर्देशित फिल्मको टिजरमा साथीसाथीको सम्बन्धका साथमा माया प्रेमको दृश्य र खजुरेको संघर्ष देखाउन खोजिएको छ। टिजरमा फिल्मका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धरलाई विशेष स्थान दिइएको छ।

आगामी २८ गते रिलिज हुने फिल्मले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा भन्ने जनाइएको छ। धरान आसपासमा डुली हिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भएको थियो। जीवनको पछिल्लो समय धरानका मानिसका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ। खजुरे ब्रोले तिनै घटनालाई आफ्नो विषय बनाएको छ।

फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू, दीपचन्द्र राईलगायत कलाकारले अभिनय गरेका छन्।

कलाकार नवीन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनील मानन्धर र पिकेश मानन्धर सह–निर्माता तथा डायमण्ड उप्रेती कार्यकारी निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्