पूजार सार्कीका ३ स्टारको अवतार

182
Shares

काठमाडौं ।

तीन स्टारले एक साथ स्क्रिन सेयर गरेका कारण चर्चामा रहेको फिल्म पुजार सार्कीको टिजर हालै सार्वजनिक गरिएको छ। टिजरमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुलाई अघिल्ला फिल्मभन्दा फरक भूमिकामा देखाइएको छ।

आगामी जेठ १० गते नेपालसँगै नेपालीको बसोबास रहेको विभिन्न देशबाट एकसाथ रिलिजमा आउने फिल्मको एक मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारलाई बराबर स्थान दिइएको छ। छोटो टिजरमा पनि निर्देशक राउतले सबै कलाकारलाई उत्तिकै महत्वका साथ समेटेका छन्।

टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन्। डोली चढेर आउ“दै गरेका उनी केही सामन्त लाग्छन् तर अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कास“गै भागिरहेका देखिन्छन्। फेरि अर्को दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन्। आर्यनको भूमिकाले उनको पात्रको चारित्रिक दृष्टिकोणलाई बहु आयामिक देखाउँछ।

त्यसै गरी प्रदीप खड्कालाई दमाहा बजाउँदै गरेको देखिन्छ। उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ। उनको भूमिकाले जातीय विभेदलाई दर्साएको छ। केही क्षणमा पल शाह देखिन्छन्। उनले टिजरमा भरुवा बन्दुक चलाएका छन्।

टिजरका दृश्य सम्पादन गर्दा आर्यन र प्रदीप माथि बन्दुक हानी रहेको देखिएता पनि पलको भूमिका क्रान्तिकारी रहेको अनुमान गर्न सकिन्छ। टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहको भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतले पनि अभिनय गरेका छन्। दर्शकको रोजाइका तीन स्टारको अभिनय रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका छन्।

उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशलगायतका सफल फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। विकास सुवेदीले लेखेको फिल्म एक दर्जन फिल्ममा संगीत दिईसकेका संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालको स्वर, हिमाल केसीको द्वन्द्व निर्देशन, साजन बस्ताकोटी र सदिक्षा महत्राको कला निर्देशन, राजेश श्रेष्ठको डिओपी र भरत रेग्मीका सम्पादन रहेको छ।