वर्ष २०८० ले गुमाएका ९ कलाकर्मी र प्राविधिक



रहेनन् साउन्ड डिजाइनका श्रेष्ठ राजकृष्ण

वर्ष २०८० ले कलाकर्मी र प्राविधिकहरूलाई गुमाएको छ। वैशाख पहिलो साता नै नेपाली फिल्म क्षेत्रले कुशल साउन्ड डिजाइनर राजकृष्ण श्रेष्ठ गुमायो। स्वास्थ्यमा जटिलताका कारण क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भर्ना भई उपचारत उनको वैशाख ७ गते निधन भएको थियो। चार दशकअघि नेपाली फिल्मको ध्वनि प्राविधिकका रूपमा करियर शुरू गरेका श्रेष्ठले पछि आफूलाई यही क्षेत्रमा अघि बढाउँदै साउन्ड डिजाइनरका रूपमा स्थापित गरेका थिए।

तृष्णा, देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमानलगायत सयौं फिल्ममा साउन्ड डिजाइनरको रूपमा कार्य गर्दै आएका उनले विश्वप्रसिद्ध चिनियाँ सिरियल पश्चिमतिरको यात्रा, रुसलीको कथा, सुयान चाङको नेपाली संस्करणका लागि साउन्ड डिजाइनको कार्य गरेका थिए।

सारुकले रोजे आत्महत्या

अभिनेता सारुक ताम्राकारले असार २१ गते साँझ रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरे। बिहान ४ बजेसम्म निर्माणाधीन फिल्म ह्यासट्याग मायाको सुटिङ गरी फर्किएका सारुकले साँझ आत्महत्या गरेका थिए। परिवारले उनलाई आफ्नै घरको सिँढीमा घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेको थियो। फिल्म रानीबाट डेब्यु गरेका उनले मेरी मामु र इन्टुमिन्टु लन्डनमाजस्ता फिल्ममा काम गरेका थिए। सारुकको आत्महत्या रहस्यमय रहेकाले उनको निधनको विषयमा विभिन्न शंकाउपशंका जन्मिएका थिए।

सो विषयलाई लिएर फिल्म र अन्य क्षेत्रबाट विभिन्न प्रश्न उठाइएको थियो भने आफन्तले घटनाको छानबिन गर्न प्रहरीमा उजुरी दर्ता गरेका थिए। ह्यासट्याग मायामा स“गै काम गरेकी नायिका नम्रता श्रेष्ठ सारुकको अन्तिम संस्कारमा देखिएकी थिइनन्। तर, घटना भएको दिन भने सारुकका अभिनेता पिता सानु ताम्राकारको स्वास्थ्य अवस्था बुझ्न फोन गरेकी थिइन्।

सारुकको निधनपछि त्यस फिल्मका निर्माता निर्देशक राजीव गुरुङले नम्रताले आफू र सारुकलाई दोलालघाट लगेर राति १२ बजे कालो बोका पूजा गरी बुटी बाँधिदिएको बताएका थिए। सारुकको मोबाइलमा सुसाइड नोट फेला परेको थियो। करिब एकपाना लामो नोटमा उनले आफ्ना साथी र परिवारलाई सम्झँदै आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई दोष नदिन आग्रह गरिएको थियो। नम्रताले यस विषयमा लामो स्ट्याटस लेखेर सफाइ दिएकी थिइन्।

रकका रविनको अज्ञात अस्त

ख्यातिप्राप्त रकगायक तथा अभिनेता रविन तामाङ असार १९ गते राति अचानक अस्ताए। ६० वर्षका उनको बूढानीलकण्ठ चिसेनीस्थित निवासमा हृदयघातका कारण असामयिक निधन भएको थियो। नेपालमा रक गीतलाई स्थापित गर्ने उनले रक गीत संगीतमा इतिहास रचेका थिए।

सन् १९९६ मा नेपाल आएका रविनले रविन एन्ड लुजानामक ब्यान्डको स्थापना गरेर रक संगीतमा आफ्नो उपस्थिति दर्साएका थिए। गायनसँगै पछिल्लो समय फिल्ममा पनि छाउँदै आएका रविनले पहिलोपटक फिल्म छड्केमा अभिनय गरेका थिए। जय परशुराम, नाका, वान वे, मुखौटा, दालभात तरकारी, चिसो एस्ट्रेजस्ता फिल्ममा अभिनय गरेका थिए।

पुत्र वियोगले लियो सानुको प्राण

अभिनेता पुत्र सारुक ताम्रकारले आत्महत्या गरेको शोकले बिरामी परेका उनका अभिनेता पिता सानु ताम्राकारको उपचारको क्रममा भदौ ९ गते निधन भयो। आफ्नो एकमात्र सन्तान सारुकले आत्महत्या गरेको चोटले चल्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेपछि नर्भीक अस्पतालमा भर्ना गरिएका उनको ६४ वर्षको उमेरमा निधन भएको थियो।

मेलोडी मुन दिलमायाको बिदाई

असोज १६ गते दार्जिलिङवासी गायिका दिलमाया यो धर्तीबाट बिछोडिइन्। लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित दिलमायाले ८५ वर्षको उमेरमा दार्जिलिङमा अन्तिम श्वास फेरिन्। उनले सावन फर्की फेरि आयो, बचाइराख सम्झनाभित्र, म कहिले मर्दिनँ, माया लगाइ निष्ठुरी फर्केन, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन, बचाइराख्, अरू केही माग्दिनँ, पारिबाट फुक्योजस्ता सयौं नेपाली गीत गाएकी थिइन्। दिलमायाको स्वरबाट मोहित भएका संगीतकर्मीले उनलाई मेलोडी मुनको उपमा दिएका थिए।

रहेनन् अभिनेता पाठक

अभिनेता प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भयो। मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धनलगायत हिट फिल्ममा अभिनय गरेका पाठकको पुस ३ गते बिहान ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको थियो।

क्यान्सरले छोडेन जनगायक भृगुरामलाई

जनगायक भृगुराम श्रेष्ठको पुस २९ गते साँझ निधन भयो। क्यान्सर रोगको उपचारको क्रममा वीर अस्पतालमा अन्तिम श्वास फेरेका श्रेष्ठले जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेका लगभग एक हजारभन्दा बढी गीत गाएका थिए। गायक श्रेष्ठलाई गायनमात्र होइन, अभियनमा पनि खुबै रुचि थियो।

सेनाको जागिरपछि पनि रेडियो नेपालमा साताको एक घन्टा सेनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उनले माइतीघरनामक फिल्ममा अभिनय गरेका थिए। उनले त्यसपछि हिजो आज भोलि र पानीनामक टेलिफिल्ममा पनि अभिनय गरेका थिए। त्यस्तै, नेपाल भाषाको पहिलो फिल्म सिलु र त्यसपछिको राजमतिमा पनि अभिनय गरेका थिए।

नेपालका महम्मद रफी वैद्यको बिदाई

कालजयी गीतका मिठासपूर्ण स्वरदाता तथा साहित्य र संगीत दुवै पक्षका कर्मशील साधक योगेश वैद्यले माघ ४ गते धर्तीबाट बिदा लिए। लामो समयदेखि मधुमेहसँग जुध्दै आएका र केही वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेर सक्रिय जीवन बिताउँदै आएका ७७ वर्षीय गायक तथा संगीतकार वैद्यले राजधानीको सुन्धारास्थित भ्याली अस्पतालमा अन्तिम श्वास फेरेका थिए।

उनका चार सय ५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने ५० गीतमा संगीत दिएका छन्। यसका साथमा उनका आधादर्जन साहित्यिक र प्राविधिक पुस्तक प्रकाशित छन्। नेपालको महम्मद रफीको ट्याग पाएका उनले २०६१ सालमा प्राविधिकस्तरको सहसचिव पदबाट अवकाश प्राप्त गरेपछि पनि गीत–संगीतमा उत्तिकै सक्रियता देखाएका थिए।

भजन शिरोमणि भक्तराजले छोडे धर्ती

मुटु जलिरहेछ यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, जहाँ छन् बुद्वका आँखा, हजार आँखा हेर्ने मेरी मायालुलाई जस्ता दर्जनौं कालजयी र सदाबहार गीतका ख्यातिप्राप्त गायक तथा भजनशिरोमणि भक्तराज आचार्यको फागुन १४ निधन भयो।

गायनका साथमा संगीत र शब्द सिर्जनामा एकसाथ अघि बढ्दै आएका भक्तराज २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमलामा परेपछि टाउको र मुखको चोटले ग्रस्त उनको जिब्रोमा लागेको चोट विस्तारै क्यान्सरमा परिणत भएपछि भक्तराजले सधैंका लागि जिब्रो गुमाउनु परेको थियो। त्यसयताको उनको सिंगो जीवन आवाजविहीन बन्न पुगेको थियो।

मुटु जलिरहेछ यो मन गलिरहेछ, जीवन भनूँत घात छ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएर, हजार आँखा हेर्ने मेरी मायालुलाई, हजार सपनाहरूको माया लागेर आउँछ, जहाँ छन् बुद्धका आँखाजस्ता दर्जनौं लोकप्रिय गीत गाएका मूर्धन्य गायक भक्तराजको एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु, भवसागरमा डुबिसकेँ म, भगवान दर्शन कसरी पाऊँ?, ईश्वर प्रभु नै अन्तर्यामीजस्ता दर्जनौं भजन लोकप्रिय छन्।उनको जीवनीलाई लिएर आचार्यनामक फिल्मसमेत निर्माण भएको थियो।

प्रतिक्रिया दिनुहोस्