टी २० क्रिकेटमा नेपाल नै अगाडि



काठमाडौं ।

विश्व क्रिकेटमा टी २० क्रिकेट निकै रोमाञ्चक बनिरहेको छ। यो फरम्याटले ५० ओभरको एकदिवसीय क्रिकेटलाई केही ओझेलमा पारिसकेको पनि छ। यसले विश्वभरि लोकप्रिय कमाइरहेको छ। छिटै सकिने र चौका र छक्काको वर्षा हुने भएको हुँदा टी २० क्रिकेट विश्वभरि लोकप्रियता कमाइरहेको छ।

एकदिवसीय क्रिकेट मात्रै हुँदा केही सीमित राष्ट्रले मात्रै क्रिकेट खेल्न गर्थे। जब टी २० क्रिकेट आयो यसपछि युरोपका राष्ट्रहरूले पनि क्रिकेट खेल्न सिके र खेले । यो फरम्याटमा ब्याटरले जस्तै राम्रो बलर भएपनि त्यसविरुद्ध चौका छक्का हान्ने गरेका छन्।

टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुषतर्फ सर्वाधिक उच्चतम योगफल बनाउने विश्व कीर्तिमान नेपालको नाममा छ। नेपालले गत २०२३ मा चीनमा सम्पन्न एशियाली खेलकुदमा कीर्तिमानी ब्याटिङ गरेको थियो। नेपालले पहिलो पटक क्रिकेट खेलेको राष्ट्र मंगोलियाविरुद्ध ३ विकेटका लागि ३ सय १४ रन बनाएको थियो।

यो खेलमा कुशल मल्लले छिटो शतक पनि प्रहार गरेका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमानी बनाए । दीपेन्द्रको ९ बलमा अर्धशतक बनेको कीर्तिमान त अमर रहने भयो तर, कुशलको कीर्तिमान भने गत महिनामै भंग भएको थियो।

नेपालको ३ सय रन कटेको टी २० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा एक मात्रै अवसर हो। यसै खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको फराकिलो जित निकालेको थियो।

सोमबार राति नै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले फ्रान्चाइजी क्रिकेटतर्फ सर्वाधिक उच्चतम योगफल बनायो। सनराइजर्सले बनाएको ३ विकेटको क्षतिमा २ सय ८७ रन पुरुष टी २० मा सर्वाधिक दोस्रो उच्चतम योगफल बनेको छ। तर, टी २० फ्रान्चाइजी क्रिकेटमा यो सर्वाधिक उच्चतम योगफल हो।

जारी आईपीएलमै तीन साताअघि सनराइजर्सले मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएर आईपीएलकै उच्चतम रनको कीर्तिमान रचेको थियो। यो कीर्तिमान छिटै सनराइजर्सले नै तोड्यो । सनराइजर्सको यो २ सय ७७ रन पाँचौं सर्वाधिक उच्चतम योगफलमा परेको छ।

तेस्रो स्थानमा अफगानिस्तानले आयरल्यान्डविरुद्ध सन् २०१९ मा बनाएको २ सय ७८ रनको योगफल परेको छ। ६ महिनापछि चेक रिपब्लिकले कन्टिनेन्टल कपमा टर्कीविरुद्ध यही योगफल बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्