युकेमा आनन्द र मल्लिकाको सांगीतिक हंगामा



काठमाडौं ।

गायक आनन्द कार्की र गायिका मल्लिका कार्कीले बेलायतका विभिन्न शहरमा सांगीतिक हंगामा मच्चाएका छन्। नयाँ वर्ष २०८१ को अवसरमा बेलायतका विभिन्न शहरमा हुने कार्यक्रममा सरिक हुन शुक्रबार बेलायतस्थित म्यानचेस्टर पुगेका उनीहरूलाई म्यानचेस्टर नेपाली समाजले भव्य स्वागत गरेको थियो।

म्यानचेस्टर नेपाली समाजले आइतबार म्यानचेस्टरमा आयोजना गरेको सांगीतिक कार्यक्रममा आनन्दले करिब १९ वर्षअघिको आफ्नै हिट गीत बादलवर्षा बिजुली गाएर तताए। त्यस्तै, वनमा फूल्यो फूल, जनमजनम जीउँलासंगै, भरे आउँछु सपनीमाजस्ता आफ्ना लोकप्रिय डान्सिङ नम्बर र सुमधुर गीतमार्फत मन्त्रमूग्ध बनाए।

सो क्रममा आनन्दले पाँच वर्षपछिको बेलायत भ्रमण उत्साहजनक भएको बताए। ‘म पछिल्लोपटक लकडाउनअघि युके भ्रमणमा आएको थिएँ। धेरै दर्शकले उस्तै देखिनुभएको छ भन्नुभयो,’ आनन्दले दर्शकको मायाले आफू पुलकित भएको भन्दै भने, ‘यहाँका दर्शकले गीतसंगीत र मलाई निकै माया गर्नुभएको छ। गीत संगीतको यति क्रेज रहेछ कि बादल वर्षा बिजुली त मैले चार चोटिसम्म गाएँ।’

त्यस्तै,गायिका मल्लिका कार्कीले पनि गाजले, अच्छा लेकिनजस्ता चर्चित गीत पस्किएर नचाइन्। सोमबार पिटरबर्गमा आयोजित कार्यक्रममा सहभागी भएका आनन्द र मल्लिकाले युगल स्वरमा केही गीत संगीत प्रस्तुत गरेका थिए।

करिब एक महिनाको सांगीतिक यात्राका लागि युके पुगेका आनन्द र मल्लिकाले वैशाख १ र २ गते नेप्लिज् एसोसियसन युके हिमालयन यतिकाको आयोजनामा म्यान चेस्टरस्थित म्यारिट होटलमा हुने सँंगितिक कार्यक्रम दर्शक झुमाउनेछन्।

पिटरबर्गको सांगीतिक कार्यक्रममा सहभागी हुँदैगर्दा गायक आनन्दले वैशाख आधाआधीमा नेपाल फर्किने बताए। त्यसपछि आफैं निर्णायकको भूमिकामा रहेको पूर्व निर्धारित कार्यक्रम नेसन्स् गट ट्यालेन्टको सुटिङमा व्यस्त रहने जानकारी पनि उनले दिए।

प्रतिक्रिया दिनुहोस्