पुजार सार्की जेठ १० मा आउने



काठमाडौं ।

तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एउटै स्क्रिन सेयर गरेको सामाजिक फिल्म पुजार सार्की आगामी जेठ १० गते रिलिज हुने भएको छ।

फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० गतेका लागि रिलिज डेट घोषणा गरिएको हो। फिल्म बुद्ध जयन्तीको दिन पारेर नेपाली बसोबास गरिरहेका विभिन्न देशमा समेत एक साथ रिलिज हुनेछ। फिल्मका निर्देशक दिनेश राउतले नेपालस“गै नेपाली रहेका विश्वका सबै देशमा एकसाथ फिल्म रिलिज बताए।

‘निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाहबमोजिम रिलिज डेट फिक्स गरिएको हो। नेपालसहित विश्वव्यापी रूपमा एकसाथ फिल्म रिलिज गर्न लागेका हौँ,’ निर्देशक राउतको भनाइ छ। निर्देशक राउतले फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथा रहेको बताए।

फिल्मको एक पोस्टरमा निधारमा रातो टीका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आ–आफ्नो चरित्रमा छन्।

अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको देखाएको छ। पोस्टरमा चौतारामा बसेका पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीप हँसिलो मुद्रामा गफ सुनिरहेका छन्।

फिल्ममा अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बूले पनि प्रमुख भूमिकामा अभिनय गरेकोे फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत कलाकार पनि छन्।
फिल्म विकास सुवेदीले लेखेका छन्।

यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए। प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशलगायत सफल फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्।

किङडम नेटवर्कको ब्यानरमा संगीतकार सुवास भुसालद्वारा निर्मित फिल्ममा उनकै संगीत छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना ठटालको स्वर, हिमाल केसीको द्वन्द्व निर्देशन, साजन बस्ताकोटी र सदिक्षा महत्राको कला निर्देशन, राजेश श्रेष्ठको छायांकन निर्देशन र सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्