सफलताको कथामा राजेश हमाल



काठमाडौं ।

ख्यातिप्राप्त अभिनेता राजेश हमालले फेरि टेलिभिजन शो सञ्चालन गर्ने भएका छन्। हमालले सञ्चालन गर्ने टेलिभिजन शो सफलताको कथा नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटीमार्फत प्रसारणमा आउने भएको हो।

संमृद्धि इन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम १९ भागसम्म तयार गरिएको र सय भाग निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए।

कर्मठ हातको कथा, रगत पसिनाको कथा भन्ने भनाइका साथ तयार पारिएको सफलताको कथा अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तिको गरी १९ भाग तयार गरिएको छ।

‘जसले विदेशमा रहेर धेरै चुनौती सहेर संघर्षका बाबजुत सफलता हासिल गर्नुभएको छ, उहाँहरूले उल्लेख्य सफलता हासिल गर्नुभएको छ। यो कार्यक्रममा उहाँहरूको मिहिनेत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ,’ अभिनेता हमालले भने, ‘विदेशमा रहेर भोग्नुभएको कथा बाहिर ल्याउनुपर्छ, त्यो सबैका लागि प्रेरणा हुन्छ। पहिलो जेनेरेसन जो विदेश पुग्नुभएको छ, उहाँहरूको कथाले धेरैलाई प्रेरणा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको निर्माण गरिएको हो।’

कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य मदनकृष्ण श्रेष्ठले विदेशमा गएर सफल भएका धेरैलाई भेटेको उनीहरूले सफल हुनका लागि गरेको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्वपूर्ण हुने बताए।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, कलाकार जितु नेपाललगायतले कार्यक्रमबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्