लुम्बिनी म्याराथनमा तिर्थ र सन्तोषी पहिलो



काठमाडौं ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा पुरुषतर्फ बाग्लुङका तीर्थ पुन र महिलातर्फ सन्तोषी श्रेष्ठ पहिला भएका छन्। पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन् ।

उनले योसँगैं नगद ५ लाख पनि हासिल गरे। त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गर्दै नेपाली सेनाका खडकबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरे । उनले नगद ३ लाख प्राप्त गरे । जुम्लाका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दुरी पुरा गर्दै तेस्रो स्थान हासिल गर्दै २ लाख नगद पनि प्राप्त गरे ।

प्रतियोगितामा अनिस थापा चौंथो स्थानमा रहे । उनले १ लाख नगद पाए । किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दशौं स्थान हांसिल गरे । पाचौ देखि १० औं स्थानसम्म आउनेले क्रमशः ८० हजार, ६० हजार, ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

महिलातर्फ सन्तोषीले निर्धारित २१ दशमलब १ किलोमिटरको हाफ म्याराथन पुरा गर्न १ घण्टा १८ मिनेट ४५ सेकेण्डको समय लगाइन् । उनले २ लाख नगद प्राप्त गरिन् । त्यस्तै, सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदै १ लाख ६० हजार नगद प्राप्त गरिन् । यसैगरी एपीएफकी पुष्पा भण्डारीले सो दुरी १ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै तेश्रो स्थान हासिल गरिन् । उनले १ लाख २० हजार नगद प्राप्त गरेकी थिइन् ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ उमेश बराईले प्रथम स्थान हासिल गर्दा सन्देश पाण्डे द्धितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थानमा रहे। साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्धितीय र गणेशसिंह राउत तृतीय भए।

महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्धितीय र निर्मला केसी तृतीय भए। ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः जनही १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्