महाजात्रा हेरेर आत्मलोचना गर्न सक्नु पर्छ : पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म महाजात्रा हेरेर नेताले आत्मलोचना गर्न सक्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार बेलुकी ठमेलको छायाँ सेन्टरस्थित क्युएफएक्समा महाजात्रा हेरिसकेपछि पत्रकारसँग कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यो फिल्म मनोरञ्जनसँगै सन्देशमूलक छ। हामी देशमा सुशासन, संमृद्धिको कुरा गर्छौं, तर भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। नेताहरूले फिल्म हेरेर म म भन्न सक्नुपर्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नुपर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैन। फिल्म हेरिरहँदा केही स्थानमा भावुक भए“, केही स्थानमा आँशु रोक्न सकिनँ। फिल्म हेरेर आनन्द आयो।’

भट्टराईले यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयनलगायत सम्पूर्ण पक्ष मन परेको बताए। ‘फिल्म आमदर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो छ। म यसलाई १० मा ८ नम्बर दिन्छु,’ उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए।

‘हामीले सक्किने कि सच्चिने भन्ने प्रश्न फिल्ममा उठाएका छौं। यसपटक मनोरञ्जनस“गै फिल्मकर्मीको दायित्व बहन गर्दै राष्ट्रिय विषयलाई उठान गरेका छौं। देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ,’ निर्देशक भट्टराईले भने।

कार्यकारी निर्मातासँगै अभिनेता रवीन्द्रसिंह बानियाँले फिल्म हलमा सबै समूहका दर्शक पाउँदा हर्षित भएको प्रतिक्रिया दिए। ‘हामी हल भ्रमणमा पुग्दा नयाँ दर्शक भेटिरहेका छौं। अधिकांश परिवार नै फिल्म हेर्न आएको पाएका छौं। बच्चा, वृद्धसँगै ह्वीलचेयरमा नै फिल्म हेर्न आएको पाउँदा खुसी छौं। र, शो सकेर हलबाट निस्किँदै गर्दा उहाँहरूले दिनुभएको धन्यवाद हाम्रो सबैभन्दा ठूलो सफलता हो,’ अभिनेता बानियाँले भने।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले नेपालसँगै विदेशमा उत्तिकै उत्साहजनक व्यापार गरिरहेको बताए। ‘अस्ट्रेलिया, अमेरिका, मध्यपूर्व, जापानलगायत मुलुकमा कमाइ बढेसँगै शो संख्यामा वृद्धि भएको छ। अहिले यसले हामीलाई लाभ दिए पनि नेपाली फिल्मको बजार विस्तारमा उल्लेख्य मद्दत पुगेको छ। हामीले साउदी अरेबियामा पहिलोपटक फिल्म रिलिज गर्दैछौं। केही नयाँ देशमा बजार तयार गर्न हामी प्रयास गरिरहेका छौं,’ निर्माता खत्रीले भने।

उनले फिल्मले १० दिनसम्म विश्वव्यापी १४ करोड ग्रस कमाएको बताए। उनका अनुसार नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड नेरु ग्रस रहेको छ।

पूर्वप्रधानमन्त्री भट्टराई भन्दा अघि अर्थात् पहिलो साता नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलगायत विशिष्ट व्यक्तिले हेरिसकेका छन्।

गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फणीन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)बीचको मित्रतालाई देखाइएको छ।

आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाइएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्