नोराको खुलासा



एजेन्सी ।

अभिनेत्री नोरा फतेही बलिउडमा अभिनय र नृत्यका लागि प्रख्यात नाम हो। विशेषगरी नृत्यको माध्यमबाट दर्शक बटुलेकी नोराको जीवन चमकधमकले भरिएको छ।

विस्तारै विस्तारै उनले सफलताको शिखर चुमेकी छन्। तर, नोराको यो सफलता पछाडि दुःख र संघर्षले भरिएको कहानी छ। हालै नोराले बलिउड अनलाइन दैनिक भाष्करका साथ आफ्नो सुरुआती दिनको कहानी बताएकी छन्। उनका अनुसार खल्तीमा केवल पाँच हजार बोकेर उनी बलिउड छिरेकी हुन्।

सो समयमा उनी नौँजना साथीका साथ फ्ल्याटमा बस्ने गर्थिन्। ‘म त्यस्तो समयका लागि कहिल्यै पनि तयार थिइनँ र अहिले पनि ती दिन सम्झिँदा मलाई नराम्रो लाग्छ,’ नोराले भनेकी छिन्, ‘मैले धेरै दिन अण्डा, पाउरोटी र दुधमात्र खाएर गुजारा चलाएकी छु।’

आफूले संघर्ष गर्दाको समय केही एजेन्सीले आफूलाई प्रताडित गरेको र त्यसबाट बाहिर आउन थेरापीको सहयोग लिन परेको समेत उनले बताएकी छन्।

सन् २०१९ को एक अन्र्तवार्तामा नोराले आफूले काम गर्दै आएको एजेन्सीले हप्ताको केवल तीन हजार दिने गरेको र त्यसले खर्च धान्न निकै गाह्रो हुने गरेको बताएकी थिइन्।

नोराले सन् २०१४ मा फिल्म रोर टाइगर्स अफ सुन्दरबंशबाट बलिउडमा डेब्यु गरेकी थिइन्। यसपछि उनी बाहुबली द बिगिनिङको डान्स नम्बर मनोहारीमा देखिएकी थिइन्। तर, नोराको असली चर्चा भने रियालिटी शो बिग बोस ९ मा सहभागी भएपछि सुरु भएको थियो।

त्यसपछि दिलबर दिलबर, हाए गर्मीजस्ता डान्सिङ नम्बर हिट हुन थालेपछि उनी स्टार बन्न थालिन्। हालै नोरा फिल्म मडगावं एक्सप्रेसमा पनि देखिएकी थिइन्। यसभन्दा अघि उनले यसै वर्ष फेब्रुअरीमा रिलिज भएको फिल्म क्रयाकमा विधुत जामवालाको अपोजिटमा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्